इंग्लिस प्रिमियर लिग : रोमाञ्चक खेलमा लिभरपुलद्वारा चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग अन्तर्गत ३७ औं चरणको खेलमा च्याम्पियन लिभरपुलले चेल्सीविरुद्ध ५-३ को शानदार जित हात पारेको छ । जितसंगै औपचारिक रुपमा लिभरपुलले लिगको उपाधि समेत उचालेको छ।

एन्फिल्डमा सम्पन्न निकै रोमाञ्चक खेलमा लिभरपुलका लागि नावी केइटा, एलेक्सेन्डर अर्नोल्ड, जर्जीन्हो विजन्ल्डम, रोवर्टो फिर्मीन्हो र एलेक्स अक्सलेड चेम्वरलेनले समान एक-एक गोल गरे । चेल्सीका ओलिभर जिरुउड, टम्मि अब्राहम र क्रिस्टियन पुलिसिकले गोल गरे पनि चेल्सीलाई खेलमा जित हात पार्न भने पर्याप्त भएन।

२३ औं मिनेटको खेलमा केइटाले गोल गर्दै घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए । अर्नोल्डको शानदार फ्रिकिक गोल मार्फत लिभरपुलले खेलको ३८ औं मिनेटमा आफ्नो अग्रता दोब्बर बनायो । ४३ औं मिनेटको खेलमा सलाहको पासमा विज्नाल्डोनले गोल गर्दै खेलमा लिभरपुललाई एक तर्फी जिततिर अग्रसर बनाए । पहिलो हाफको इन्ज्युरि समयको तेस्रो मिनेटमा जिरुउडले चेल्सीको गोलको खाता खोल्दै पाहुना टोलिलाई खेलमा कमब्याकको सङ्केत देखाए।


५५ औं मिनेटको खेलमा अर्नोल्डको पासमा फिर्मीनोले गोल गर्दै लिभरपुलको जित पक्का गराएका थिए । तर, ४ गोलले पछाडि परेको चेल्सी घरेलु टोलिसामु मजबुत रुपले पेस आयो । ६१ औं मिनेटको खेलमा पुलिसीकको पासमा अब्राहमले गोल गर्दै खेललाई ४-२ को अवस्थामा ल्याए । ७३ औं मिनेटको खेलमा ओडोईको पासमा पुलिसिकले गोल गर्दै चेल्सीलाई ४-३ को रोचक स्थितिमा ल्याए । तर, ८४ औं मिनेटको खेलमा चेम्वरलेनले गोल गर्दै लिभरपुलको ५-३ को फराकिलो जित सुरक्षित गराए ।

लिभरपुलले एन्फिल्डमा २३ अप्रिल २०१७ देखि अहिलेसम्म हार भोग्नु परेको छैन ।

हारसँगै चेल्सी तेस्रो स्थानबाट चौथो स्थानमा झरेको छ । चेल्सीको ३७ खेलमा ६३ अंक रहेको छ भने तेस्रो स्थानको युनाइटेडको पनि समान अंक छ । पाचौं स्थानको लेस्टरको भने ६२ अंक रहेको छ । यी तीन टोलि मध्य दुई टोलि शिर्ष ४ मा रहदै अर्को वर्ष हुने च्याम्पियन्स लिगको लागि छनोट हुने हो । लिभरपुलले ३७ खेलमा ९६ अंक बनाएर च्याम्पियन बनिसकेको छ ।

चेल्सीले आगामी खेल अर्थात लिगको अन्तिम खेलमा वोल्भ्सको सामना गर्दै छ । उक्त खेलमा जित हासिल पार्न सके चेल्सी शिर्ष ४ मा रहने पक्का हुनेछ ।

२०७७ श्रावण ८, बिहीबार मा प्रकाशित