रोनाल्डो र लेवान्डोस्कीलाई पछि पार्दै चिरो इम्मोबिलेले जिते युरोपेली गोल्डेन बुट

इटालीका खेलाडी चिरो इम्मोबिलेले रोनाल्डो र लेवान्डोस्कीलाई पछि पार्दै युरोपेली गोल्डेन बुट आफ्नो नाम गरेका छन् । लाजियोका अग्रपङ्क्तिका खेलाडी इम्मोबिलेले यस सिजन कुल ३६ गोल गर्दै गोल्डेन बुटमा आफ्नो कब्जा जमाएका हुन् ।

जर्मन लिग बुन्डेसलिगामा बार्यन म्युनिखको प्रतिनिधित्व गर्दै रोबर्ट लेवान्डोस्कीले सर्वाधिक ३४ गोल गर्दै युरोपेली गोल्डेन बुटमा आफ्नो प्रवल दाबेदारी पेस गरेका थिए । तर, उनले दोस्रो स्थानमा नै चित्त बुझाउनु पर्यो । यस्तै, सिरिए ‘ए’ को गोल्डेन बुटको दौडमा दोस्रो स्थानमा रहेका क्रिस्टिएनो रोनाल्डोले ३१ गोल गर्दै युरोपेली गोल्डेन बुटको दौडमा तेस्रो स्थानमा रहन सफल भए । लिगमा रोमाविरुद्धको अन्तिम खेलमा युभेन्ट्सका खेलाडी रिनाल्डोलाई प्रशिक्षक सारिले विश्राम दिएका थिए ।

यसअघि बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले लगातार ३ सिजनमा युरोपेली गोल्डेन बुट हात पारेका थिए । तर, यस सिजनमा भने उनी शिर्ष ३ मा पनि अटाउन सकेनन् । यस सिजन २५ गोल गरेका मेस्सीले ला लिगामा गोलकर्ताको शिर्ष स्थानमा रहदै पिचिची ट्रफी  हासिल गरेका थिए ।

३० वर्षिय इम्मोबिलेले तेस्रो पटक सिरिय ‘ए’को गोल्डेन बुट हात पारेका हुन् । यसअघि उनले २०१३/१४ को सिजनमा २२ गोल गर्दै गोल्डेन बुट जितेका थिए भने २०१७/१८ को सिजनमा उनले इकार्डीसँग उक्त उपाधी बाढेका थिए । २००६/०७ यता पहिलो पटक ला लिगा बाहेक अन्य लिगको खेलाडीले युरोपेली गोल्डेन बुट हात पारेका हुन् । पछिल्लो पटक सिरिय ‘ए’ लिगबाट टोट्टिले रोमाको प्रतिनिधित्व गर्दै युरोपेली गोल्डेन बुट हासिल गरेका थिए ।

सिरिय ‘ए’ अन्तर्गत शनिबार राती नापोलीविरुद्ध भएको खेलमा इम्मोबिलेले एक गोल गर्दै इटालीको शिर्ष डिभिजन लिगमा एकै संस्करणमा धेरै गोल गर्ने कीर्तिमानमा गन्जालो हिग्युएनसँग बराबरी गरेका छन् । जारी सिजनमा लाजियोलाई १३ वर्षपछि च्याम्पियन्स लिगमा छनोट गराउन इम्मोबिलेले अहम् भुमिका निर्वाह गरेका थिए ।

युरोपेली गोल्डेन बुटको दौड :

१. चिरो इम्मोबिले – ७० अंक (३५ गोल) – लाजियो – इटाली

२. रोबर्ट लेवान्डोस्की – ६८ अंक (३४ गोल) – बायर्न म्युनिख – जर्मनी

३. क्रिस्टियानो रोनाल्डो – ६२ अंक (३१ गोल) – युभेन्टस – इटाली

४. टिमो वेर्नर – ५६ अंक (२८ गोल) – आरबी लाइप्जिग – जर्मनी

५. लिओनेल मेस्सी – ५० अंक (२५ गोल) – बार्सिलोना – स्पेन

६. एर्लीङ हालान्ड – ५० अंक (२९ गोल) (१३ गोल बोरुसिया डर्टमुन्ड जर्मनीमा र १६ गोल साल्ज्बर्ग अष्ट्रियामा)

७. रोमेलु लुकाकु – ४६ अंक (२३ गोल) – इन्टर मिलान – इटाली

८. जेमी भार्डी – ४६ अंक (२३ गोल) – लेस्टर सिटी – इंग्ल्यान्ड

९. शोन वेस्मन – ४५ अंक (३० गोल) – वोल्फ्सबर्गर – अष्ट्रिया

१०. पिएर एमेरिक औबामेयाङ – ४४ अंक (२२ गोल) – आर्सनल – इंग्ल्यान्ड

अंकहरु लिगको स्तर अनुसार दिइने गरिन्छ ।युरोपेली गोल्डेन बुट युरोप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीले हात पार्ने गर्छन् ।

२०७७ श्रावण १८, आईतवार मा प्रकाशित