गए राती सम्पन्न खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीलाई ३-१ ले हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बार्साले च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइलको दोस्रो लेगमा फराकिलो जित निकाल्दै समग्रमा ४-२ को जित दर्ता गरेको हो।
बार्सिलोना लगातार १३ औं पटक तथा समग्रमा १८ औं पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको हो। बार्सिलोना सबैभन्दा बढी क्वार्टरफाइनलमा पुग्ने टिम हो, अरु टिम ८ पटक भन्दा बढी क्वार्टरफाइनल पुग्न सकेको छैन। बार्सिलोनाले क्वाटरफाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ।
नापोलीको घरेलु मैदानमा भएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । कोभिड-१९ को महामारीको कारण बन्द भएको च्याम्पियन्स लिग फुटबल ३ महिनाको अन्तराल पछि शुक्रबारबाट पुनः गति लिन सुरु गरेको हो ।
बार्सीलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको दोस्रो लेगमा बार्साका लागि लुइज सुआरेज, क्लेमेन्ट लेङलेट र कप्तान लियोनेल मेस्सीले समान १-१ गोल गरेका थिए । लोरेन्जो इन्सिग्नेले गरेको एक मात्र गोलले पाहुना टोलिलाई हारबाट जोगाउन सकेन । क्वाटरफाइनलमा स्थान बनाउन दुबै टिमलाई स्पष्ट जितको खाँचो थियो ।
?? Barcelona are unbeaten in their 8 UCL matches this season… #UCL pic.twitter.com/LUdxJzdt3h
— UEFA Champions League (@ChampionsLeague) August 8, 2020
खेलको सबै गोल पहिलो हाफमा सम्भव भएको थियो। १० औं मिनेटको खेलमा इभान राकिटिचको पासमा क्लेमेन्ट लेङलेटले हेडर मार्फत गोल गर्दै बार्सालाई सुरुवाती अग्रता दिलाएका थिए। कर्नरका क्रममा नेपोलीका डिएगो डेम्मेलाई लेङलेटले धकेलेपनि रेफ्रीले भिएआरको सहायताले गोललाई मान्यता दिए ।
२३ औं मिनेटमा कप्तान मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सालाई दोस्रो अग्रता दिलाएका थिए । सुरुवाती समयमा २ गोल बेहोरेको नापोली निकै दबाबमा आएको थियो ।
३० औं मिनेटमा मेस्सीले गरेको गोल भिएआरले रद्द गरेपछी बार्साले तेस्रो अग्रता लिने अवसर गुमाएको थियो । ४१ औं मिनेटको खेलमा नापोलीका डिफेन्डर कालिडु कौलिबालीले मेस्सीलाई फल गरेपछी भारको मद्दतमा बार्साले पेनाल्टी पाएको थियो । सुआरेजले पेनाल्टीको पूरा रुपले सदुपयोग गर्दै बार्सिलोनालाई पहिलो हाफमा ३ गोलको अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा राकिटिचले मार्टिन्सलाई पेनाल्टी क्षेत्रमा लडाएपछि नापोलीले पनि पेनाल्टी पाएको थियो । इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै नापिलीलाई खेलमा फर्काएका थिए । निकै रोमाञ्चक र नाटकीय खेलमा भारको प्रयोग धेरै पटक गरिएको थियो ।
थुप्रै आक्रमण बुनेको नापोलीले दोस्रो हाफमा गोल गर्न विफल रह्यो। अन्तत: ३-१ ( समग्रमा ४-२) को जित दर्ता गर्दै बार्सिलोनाले अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ । अन्तिम १६ को खेलमा लियोनेल मेस्सीले घरेलु मैदानमा भएको १२ खेलमा २० गोल गरिसकेका छन् ।

बार्सा किर्तिमानी ३६ पटक च्याम्पियन्स लिगको घरेलु खेलमा अपराजित रहेको छ जुन लिगमा दोश्रो सर्वाधिक हो। सन् १९६९ र १९९१ मा बायर्न म्युनिख ४३ खेलसम्म अपराजित रहेको थियो।
नापोलीले प्रि-क्वाटरफाइनलमा भएको सबै (३) खेलमा हार बेहोरेको छ । नापोलीलाई क्वाटरफाइनलमा हराएको टोलिहरुले उक्त सिजनको उपाधी आफ्नो नाम गरेका थिए ( चेल्सीले २०१२ मा र रियल म्याड्रिडले २०१७ मा)।
अब क्वाटरफाइनलमा बार्सिलोना र बायर्न म्युनिखको आमने-सामने हुनेछन् । बायर्नले चेल्सीलाई समग्रमा ७-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा ३-० को जित दर्ता गरेको बायार्नले शनिबार ४-१ को जित हात पारेको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले २ तथा कोरेन्टिन टोलिसो र इभान पेरिसिचले १-१ गोल गरेका थिए। चेल्सीका ट्यामी अब्राहमले सान्त्वना गोल फर्काएका थिए ।
गए राती सम्पन्न खेलसँगै अन्तिम १६ को समीकरण पुरा भएको छ । अब ८ खेलपछी जारी संस्करणको च्याम्पियन्स लिग विजेताको टुंगो लाग्नेछ । बिहिवार राती भएको खेलमा म्यान्चेस्टर सिटिले सर्वाधिक विजेता रियल म्याड्रिड र लियोनले युभेन्टसलाई पछि पार्दै च्याम्पियन्स लिगको क्वाटरफाइलमा प्रवेश गरेका थिए । अन्य प्रि- क्वाटरफाइनलका खेलहरु कोरोना भाइरसको महामारी अगाडि नै समाप्त भैसकेको थियो ।

