फुटबल टिमको कोरोना परीक्षण सुरु ( फोटो फिचर )

नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण सोमबार सुरु भएको छ। एन्फाका अनुसार आज ११ जना खेलाडी र १२ जना होस्टेल स्टाफहरुको परिक्षण गरिएको छ। पाटन हस्पिटल ललितपुरमा परिक्षण गरिएको हो।

कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ । खेलाडीको पीसीआर परीक्षण सोमबार र मङ्गलबार गरिने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

विश्वकप छनोट खेलको प्रशिक्षणका लागि हाल पुरुष ३४ खेलाडीलाई क्वारेन्टिनमा राखिएको छ । खेलाडीसँगै प्रशिक्षक, पदाधिकारी र एन्फा होस्टलका कर्मचारीको पनि कोरोना परीक्षण गरिने राईले बताउनुभयो । “खेलाडीको पीसीआर परीक्षण गर्न दुई दिन लाग्नेछ”, उहाँले भन्नुभयो । परीक्षणको नतिजा आएपछि प्रशिक्षण अगाडि बढ्नेछ ।

सरकारले आगामी भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षण गर्न सकिने निर्णय गरेपछि एन्फाले प्रशिक्षणको तयारी थालेको हो । फिफा र विश्व स्वास्थ्य सङ्गठनका साथै नेपाल सरकारको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिकाअनुसार एन्फाले खेलाडीलाई प्रशिक्षणको व्यवस्था गर्नेछ । विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अब तीन खेल खेल्न बाँकी छ ।

कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल आगामी अक्टोबर र नोभेम्बरमा गराउने एशियाली फुटबल महासङ्घ (एएफसी) ले फिफालाई प्रस्ताव गरेको छ । स्थगित भएका खेल आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने उल्लेख छ । दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ । ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ ।

नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ । समूह बी मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा नेपाल पराजित भएको थियो ।

 

 

सम्बन्धित :-

राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकमा मल्ल

२०७७ श्रावण २६, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment