सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र २०२३ मा चिनमा हुने एसियन कपको संयुक्त छनोट खेल अन्तर्गत नेपालले अक्टोबर र नोभेम्बरमा खेलिने भनिएको नेपालको बाँकी तीन खेल २०२१ सम्मको लागि स्थगित भएको छ ।
कोभिड-१९ को महामारीको कारण फेरि पनि विश्वकप छनोटका खेलहरु स्थगित भएको हो । सबै सहभागी टोलिहरुले अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका कारण प्रशिक्षण गर्न गाह्रो भएको कुरामा ध्यानाकर्षण गराएपछि फिफा र एसियन फुटबल कन्फेडेरसन (एएफसी)ले संयुक्त रुपमा आगामी खेलहरु २०२१ सम्मको लागि स्थगित गरेको कुरा जनाएको हो ।
यसअघि, नेपालले घरेलु मैदान (दशरथ रंगशाला )मा २०२२ को विश्वकप छनोट अन्तर्गतका खेलहरुमा चाइनिज ताइपइविरुद्ध अक्टोबर ८, अष्ट्रेलियाविरुद्ध अक्टोबर १३ र जोर्डानविरुद्ध नोभेम्बर १२ मा प्रतिस्पर्धा गर्ने तालिका रहेको थियो । अब सन् २०२१ मा विश्वकप छनोटका खेलहरुको नयाँ तालिका सार्वजनिक गरिने छ ।
“सहभागी टोलिहरुको स्वास्थ्य सुरक्षा र सावधानीको लागि फिफा र एएफसीले संयुक्त रुपमा काम गर्नेछ। कोभिड-१९ को महामारीको मध्यनजर गर्दै छनोट खेलहरुको नयाँ तालिका छिटो सार्वजनिक गर्नेछौ ।”, एफसीले अफिसियल चिठीमा बताएको हो ।
नेपालले अक्टोबर, नोभेम्बरमा छनोट खेलहरु हुने भनिएको कारण प्रशिक्षण समेत गर्ने तरखरमा थियो । २ दिन लगाएर हिजो भर्खर बन्दप्रशिक्षणका लागि बोलाइएको खेलाडीहरुको कोरोना प्रशिक्षणको लागि स्वाब संकलन गरेर सकिएको थियो ।
५ टोलि सम्मिलित छनोट खेलमा नेपालले अहिलेसम्म पाँच खेल खेल्दा १ मा जित र ४ मा हार बेहोरेको छ ।
चाइनीज ताइपेइविरुद्ध अन्जन विष्टको दुई गोल मद्धतमा नेपालले २-० ले एक मात्र खेल जितेको थियो ।
