इङ्ग्ल्यान्ड र पाकिस्तानबिच जारी तीन टेस्ट सिरिज अन्तर्गत दोस्रो टेस्टको लागि घरेलु टोलि इङ्ग्ल्यान्डले बुधबार १४ सदस्यीय टिमको घोषणा गरेको छ । इङ्ग्ल्यान्ड र पाकिस्तानबिचको तीन टेस्ट शृङ्खलाको दोस्रो खेल बिहिबार देखि साउथह्याम्पटन सुरु हुदैछ । इङ्ग्ल्यान्ड टिमको मुख्य चयनकर्ता जेम्स टेलरले बुधबार १४ सदस्यीय टिमको चयन गरेका हुन्।
पारिवारिक कारण देखाउदै सिरिज छाडेर न्युजिल्यान्ड प्रस्थान गरेका स्टार अल-राउण्डर बेन स्टोक्सको ठाउँमा डरहमका तिव्र गतिका बलर ओलि रोविन्सनलाई टिममा स्थान दिईएको छ। रोविन्सनको यो डेब्यु टेस्ट सिरिज हुनेछ ।
२७ वर्षीय रोविन्सन इंग्ल्यान्डको काउन्टी क्रिकेट ससेक्सको लागि खेल्दै आएका छन्। उनले ५७ प्रथम श्रेणी खेलमा २४४ विकेट लिईसकेका छन् भने १,४१६ रन पनि बनाएका छन्। यसै महिना बब विलिस ट्रफीमा उनले ह्याम्पसायर बिरुद्ध प्रथम श्रेणी खेलमा ८ विकेट लिएका थिए।

सिरिजमा इङ्ग्ल्यान्डलाई १-० को अग्रता
म्यान्चेस्टरमा भएको पहिलो टेस्टमा घरेलु टोलि इङ्ग्ल्यान्डले ३ विकेटको रोमान्चक जित हात पार्दै सिरिजमा अग्रता हासिल गरेको थियो। पहिलो ब्याटिङ गर्दै शान मसुदको शतकिय पारीमा पाकिस्तानले ३२६ रन बनाएको थियो । पहिलो इनिङमा ब्याटिङ गर्न उत्रेको इङ्ग्ल्यान्ड केवल २१९ रनमा समेटिएको थियो । पहिलो इनिङमा १०७ रनको अग्रता कायम गरेको पाकिस्तानले दोस्रो इनिङमा ब्याटिङ चल्न नसक्दा १६९ रन बनाएपछि २७७ रनको लक्ष्य इंग्ल्यान्डलाई प्रस्तुत गरेको थियो।
Hot work for the lads at practice in Southampton ???????☀️ pic.twitter.com/vtpEncSnXx
— England Cricket (@englandcricket) August 12, 2020
जवाफी ब्याटिङमा उत्रिएको इङ्ग्ल्यान्डले सुखद सुरुवात गर्न नसक्दा ११७ रनमा ५ विकेट गुमाएको थियो । तर, मध्य क्रमका ब्याट्सम्यान जोस बटलर र क्रिस वोक्सले छैटौं विकेटको लागि १३९ रनको महत्त्वपूर्ण साझेदारी गर्दै इङ्ग्ल्यान्डलाई जिततर्फ अग्रसर गराएका थिए । वोक्सले अविजित ८४ रनको उत्कृष्ट पारी खेल्दा बटलर ७५ रन बनाएर आउट भएका थिए ।

इंग्ल्यान्डको १४ सदस्यीय टीम
जो रूट (कप्तान), जेम्स एंडरसन, जोफ्रा आर्चर, डम बेस, स्टुवार्ट ब्रोड, रोरी बर्न्स, जोस बटलर (विकेटकीपर), ज्याक क्राउले, स्याम करन, ओली पोप, ओरी रोविन्सन, डम सिब्ले, क्रिस वोक्स, मार्क वुड
