पिएसजी २५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

गए राती सम्पन्न खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले इटालियन क्लब एटलान्टाविरुद्ध २-१ को पुनरागमन जित दर्ता गर्दै २५ वर्षपछि इतिहासमा दोस्रो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अन्तिम समयमा १४९ सेकेन्डको अन्तरालमा २ गोल गरेपछी खेलमा पिएसजीको जित पक्का भएको थियो ।

खेलको तेस्रो मिनेटमा ब्राजिली स्टार नेयमारले वन भर्सेस वनको अवसरमा गोलरक्षकको माथीबाट चिप गरेको बल पोस्टबाट बाहिरिदा महत्त्वपूर्ण खेलमा पिएसजी सुरुवाती अग्रता लिनबाट चुकेको थियो । सुरुवाती समयमा निकै राम्रो अवसर सिर्जना गरेको एटलान्टाले मारियो पासालिचले २६ औं मिनेटमा गरेको गोलको मद्दतमा सुरुवाती अग्रता हात पारेको थियो ।पेनाल्टी बक्सबाट पासालिचले देब्रे खुट्टाले प्रहार गरेको बलमा पिएसजीका गोलरक्षक केलन नाभासलाई कुनै अवसर थिएन ।

पहिलो हाफमा १-० ले पछाडिएको पिएसजी निकै दबाबमा आएको थियो । गोल गर्ने अवसरबाट बारम्बार चुक्दा खेल पिएसजीको हातबाट चिप्लिन लागिसकेको थियो । तर, ९० औं मिनेटको खेलमा चुप माटिङको क्रसमा नेयमारले गरेको फितलो प्रहारमा मार्किन्हसले बललाई पोस्टको दिशा देखाएपछि पिएसजी खेलमा फर्किएको थियो ।

अन्तिम समयमा सम्हालिन नसक्दा एटलान्टा पहिलो पटक सेमिफाइनल प्रवेश गर्नबाट चुक्यो । अतिरिक्त समयको दोस्रो मिनेटमा परिवर्तन भएर मैदानमा उत्रिएका एमबाप्पेले दिएको पासमा चुपो मोटीङले गोल गर्दै खेल पिएसजीको तर्फ पल्टाएका थिए । घाइते भएका युवा खेलाडी केलिएन एमबाप्पेले मैदान प्रवेश गरेपछी पिएसजि टिममा नयाँ उर्जा थपिएको थियो ।

अब, पिएसजीले सेमिफाइनलमा एटलेटिको म्याड्रिड र आरबी लाइप्जिगसँगको विजेता टोलिसँग प्रतिस्पर्धा गर्ने छ । स्टार खेलाडी नेयमार र युवा खेलाडी एमबाप्पे प्रेरित पिएसजी पहिलो पटक च्याम्पियन्स लिग उपाधी जित्न आतुर छ ।

२०७७ श्रावण २९, बिहीबार मा प्रकाशित