बार्सिलोनालाई ८-२ ले स्तब्ध पार्दै बार्यन म्युनिख सेमीफाइनलमा

शुक्रबार राती सम्पन्न खेलमा जर्मन क्लब बार्यन म्युनिखले स्पेनिस क्लब बार्सिलोनाविरुद्ध ८-२ को अप्रत्याशिक फराकिलो जित हात पारेको छ।

पोर्चुगलको राजधानी लिस्बनमा भएको खेलमा जित दर्ता गर्दै बार्यन म्युनिख युईएफ च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बार्यन म्युनिख १२ औं पटक च्याम्पियन्स लिगको सेमीफाइनल पुगेको हो। सबैभन्दा धेरै रियल मड्रिड १३ पटक सेमीफाइनल पुगेको छ।

बार्यनको जितमा थोमस मुलर र फिलिपे कोउठिनोले २ तथा जोशुआ किम्मिच, सर्ज जिनाब्रि,रोबर्ट लेवान्डोस्की र इभान पेरेसिचले समान एक-एक गोल गरे । बार्सिलोनाका लागि लुइज सुवारेजले एक गोल गरे । बार्यनका डिफेन्डर डेविड अलाबाले एक आत्मघाती गोल गरेका थिए ।

बार्यनले खेलको ४ औं मिनेटमा नै सुरुवाती अग्रता हासिल गरेको थियो । पेनाल्टी बक्स भित्रबाट लेवान्डोस्कीले ब्याक हिल गर्दै मिलाएको पासमा अफब्यालेन्स भएका मुलरले गोल गरेका थिए । तर, त्यसको तीन मिनेट पछि अलाबाको आत्मघाती गोलमा बार्सिलोना खेलमा फर्किएको थियो । जोर्डी अल्बाले सुआरेजको लागि गरेको क्रसमा अलबाले क्लियर गर्न खोज्दा बल डिफ्लेक्सन भएर गोलमा परिणत भएको थियो ।

२१ औं मिनेटको खेलमा पेरिसिचले देब्रे विंगबाट गरेको गोलमा बार्यनले पुनः अग्रता हात पारेको थियो । त्यसपछि, खेलमा गोलको वर्षात सुरु भयो । जिनाब्रिले २७ औं मिनेटको खेलमा गोरेट्जाको पासमा बार्साका डिफेन्डर लेङ्लेटलाई उछिन्दै पेनाल्टी बक्स भित्रबाट शानदार गोल गरेका थिए । ३१ औं मिनेटमा किम्मिचले गरेको क्रस पासमा मुलरले ब्यक्तिगत दोस्रो गोल गर्ने क्रममा बललाई पोस्टको दिशा देखाइदिएका थिए । ४-२ को अग्रता बनाएको बार्येन खेलमा थप हावी भयो।

५७ मिनेटको खेलमा लुइज सुआरेजले एकजना डिफेन्डरलाई ड्रिबल गरेर बिट गर्दै गोल गरेका थिए । तर, देब्रे विंगमा उत्कृष्ट रन गर्दै बार्सिलोनाका डिफेन्डर नेल्सन सेमेडोलाई छकाएर दिएको कटब्याकमा किम्मिचले सहजै गोल गर्दै बार्यनको जित पक्का गराएका थिए ।

च्याम्पियन्स लिगको जारी सिजनमा १३ गोल गरिसकेका लेवान्डोस्कीले गोल गर्दै खेललाई ६-२ को स्थितीमा पुर्याएका थिए । परिवर्तन भएर मैदानमा आएका बार्साका पुर्व खेलाडी कोउटिन्होको क्रसमा अनमार्क रहेका लेवान्डोस्कीले शानदार गोल गरेका थिए । ८५ औं मिनेटमा कोउटिन्होले गोल गर्दै बार्सिलिनाको घाउमा नुन छर्किदिएका थिए । मुलरले दिएको थ्रु पासलाई कोउटिन्होले अनियंत्रित हुँदा बाबजुद गरेको प्रहार गोलमा परिणत भएको थियो ।

कोउटिन्होले ८९ औं मिनेटको खेलमा पेनाल्टी बक्सबाट लुकास हर्नान्डेजको हेडर पासलाई छातीले नियन्त्रणमा लिदै सहज गोल गरेका थिए । अन्य गोल सम्भव नहुदा बार्यनले ८-२ गोलअन्तरले जित हात पारेको हो ।

बार्सिलोनाको इतिहासमै सबैभन्दा फराकिलो अन्तरको हार हो । पछिल्लो ५ सिजनमा बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पराजित भएको यो चौथो पटक हो।


अब सेमिफाइनल खेलको लागि बार्यन म्युनिखले इग्लिस क्लब म्यान्चेस्टर सिटि र इटालियन क्लब लियोन बिचको विजेता टोलिको प्रतीक्षा गर्ने छ । बार्यनले अहिलेसम्म ५ पटक च्याम्पियन्स लिगको उपाधी हात पारिसकेको छ ।

२०७७ श्रावण ३१, शनिबार मा प्रकाशित