ओलम्पिक कमिटीका दुई जना कर्मचारीलाई कोरोना

नेपाल ओलम्पिक कमिटीका दुई जना कर्मचारीमा कोरोना देखिएको छ । बुधवार राष्ट्रिय खेलकुद परिषद्ले गरेको पीसीआर परीक्षणमा एनओसीका २ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । २ जना कर्मचारीको पीसीआर परीक्षणको नतिजा पोजेटिभ आएको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताउनुभयो ।

२ जना कर्मचारीमा कोरोना देखिएसँगै ओलम्पिक भवन कम्तीमा २ साताका लागि बन्द हुने भएको छ । केही दिन अगाडी मात्र कमिटीले तीन दिनका लागि कार्यालय बन्द हुने नोटिस जारी गरेको थियो । तर अब कर्मचारीमा कोरोना देखिएपछि कार्यालय कम्तीमा २ साताका लागि बन्द हुनेछ ।

कमिटीका अन्य २ जना कर्मचारीको नतिजा आउन बाँकी रहेको छ । कोरोना पोजेटिभ देखिएका दुवै जना कमिटीको सात दोबाटोको भवनमै आइसोलेसनमा बस्ने श्रेष्ठले बताउनुभयो । सात दोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरमा कोरोना देखिएपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पनि कार्यालय बन्द गरेको थियो ।

सातदोबाटोकै कराते एकेडेमीमा ओलम्पिक छनोटको तयारी पनि स्थगित भइसकेको छ । नेपाली खेलकुद क्षेत्रमा योसँगै पाँचौँ कोरोनाको केश हो । यसअघि क्रिकेटर पवन दास र स्क्वास प्रशिक्षक हिरा थापा कोरोनाबाट सङ्क्रमित भएका थिए । यस्तै राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक खेलाडीमा पनि कोरोना लागेको पुष्टि भएको थियो ।

( साभार – रेडियो नेपाल )

२०७७ श्रावण ३२, आईतवार मा प्रकाशित