पिएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

गए राती सम्पन्न खेलमा जर्मन क्लब आरबी लाइप्जिगमाथी ३-० को फराकिलो जित हात पार्दै फ्रान्सेली क्लब पेरिस सिन्ट जर्मेन (पिएसजी) पहिलो पटक युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

पिएसजीलाई फाइनलतर्फ अग्रसर गराउन अर्जेन्टिनी खेलाडी एन्जेल डि मारियाले शानदार प्रदर्शन गरेका थिए। उनले एक गोल गर्नुका साथै दुई गोल गर्ने अवसर सिर्जना गरे।

खेलको १३ औं मिनेटमा डि मारियाको फ्रिकिकमा मार्किन्होसले हेडमार्फत गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिम समयमा नेयमारको पासलाई सदुपयोग गर्दै डि मारियाले पिएसजीलाई फाइनल तर्फ उन्मुख गराए।

५६ औं मिनेटमा डि मारियाको पासमा जुआन बर्नाटले गोल गर्दै पिएसजीको जित सुनिश्चित गराए। आक्रमक खेल पस्किएको पिएसजीको आक्रमणलाई रोक्न नसक्दा लाइप्जिग इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुग्नबाट चुक्यो।

अब दोश्रो सेमिफाइनलमा बिहिबार बिहान बार्यन म्युनिख र फ्रान्सेली क्लब लियोन आमने- सामना हुँदैछन् । क्वाटरफाइनलमा स्पेनिस क्लब बार्सिलोनालाई ८-२ को लज्जास्पद हार चखाएको बार्यनले लियोनलाई पराजित गर्दै फाइनलको यात्रा तय गर्ने सोचमा रहने छ।

यता प्रि-क्वाटरफाइनलमा इटालियन क्लब युभेन्टस र क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेष्टर सिटिलाई स्तब्ध बनाएको लियोन पुन: त्यसलाई निरन्तरता दिँदै फाइनल प्रवेश गर्न चाहन्छ । यी दुई टोलिको विजेताले पेरिससँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ।

 

२०७७ भाद्र ३, बुधबार मा प्रकाशित

Loading...

Leave a Comment