नाबीको अलराउण्ड प्रदर्शनमा जुक्सद्वारा पेट्रिएट्स पराजित

करेबियन प्रिमियर लिग (सिपिएल) टि-२० अन्तर्गत शुक्रबार राती सम्पन्न खेलमा डारेन सामीको नेतृत्वमा रहेको सेन्ट लुसिया जुक्सले रायद इम्रिटको कप्तानीमा रहेको सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्सलाई १० रनले हराएको छ।

ब्रायन लारा क्रिकेट एकेडेमीमा सम्पन्न लिगको सातौं खेलमा १७४ रनको विजयी लक्ष पछ्याएको पेट्रिवट्सले निर्धारित २० ओभर खेल्दै १६२ रनमात्र बनाउन सक्यो।

आक्रमक सुरुवात गरेको पेट्रिवट्सले १४ रनको ब्यक्तिगत स्कोरमा लिनलाई गुमाएको थियो। अफगानी अलराउण्डर मोहम्मद नाबीको बलिङमा नाजिबुल्लाह जर्दानले शानदार क्याच लिदै लिनलाई आउट गराएका थिए। एक नम्बरमा ब्याटिङ गर्न आएका सिल्भाले पनि धेरै समय क्रिसमा बिताउन सकेनन्। उनलाई खेलको पाचौं ओभरमा चेसले आउट गरेका थिए।

राम्रो लयमा देखिएका अर्का ओपनर लुइस ब्यक्तिगत २९ रन बनाउदै चेसको सिकार बनेका थिए। २० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। त्यसपछि, ५४ रनमा ३ विकेट गुमाएको पेट्रिवट्स दबाबमा आएको थियो।

एक किनारबाट लगातार विकेट गएपनी अर्को किनार सम्हालेका दिनेस राम्दिनले ४६ रनको पारी खेल्दै पेट्रिवट्सको आश जिवित राखेका थिए। ३५ बलको सामना गरेका उनले समान २ चौका र २ छक्का प्रहार गरे। कुगलेजिनले ब्यक्तिगत दोस्रो विकेट हात पार्ने क्रममा रामदिनलाई नाबीको हातबाट क्याच आउट गराएका थिए। १० रन बनाएका कप्तान एम्रिट कुगलेजिनको बलिङमा हर्ड्जको हातबाट समातिएका थिए।

अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत छुन नसक्सा पेट्रिवट्सले लगातार तेस्रो खेलमा हार बेहोर्न पुग्यो।

पेट्रिवट्सलाई सस्तोमा समेट्ने क्रममा सेन्ट लुसियाका लागि बायाँ हाते स्पिनर रोस्टन चेसले ३ विकेट चड्काउदै पेट्रिवट्सको ब्याटिङ क्रम धारासायी बनाएका थिए। ४ ओभर गरेका चेसले १२ रन खर्चिएर किफायती बलिङ गर्दै लुइस, सिल्भा र डन्कलाई पेभेलियनको बाटो देखाएका थिए।

यस्तै, तल्लो क्रमका ब्याट्सम्यानलाई विकेटमा जम्न नदिएका कुगलेजिनले चार विकेट हात पारे। ४ ओभरमा ३३ रन खर्चिएका उनले रामदिन, पोवेल, तनविर र रम्रिटलाई आफ्नो सिकार बनाएका थिए। किफायती बलिङ गरेका नाबिले ४ ओभरमा १७ रन दिएर १ विकेट हासिल गरे। अन्य बलरहरु विकेटलिन चुकेका थिए।

ब्याटिङ तर्फ १७३ रनको योगफल तयार पार्न आन्द्रे फ्लेचरले ४६ रनको पारी खेलेका थिए। १७ बलमा ३० रनको तुफानी पारी खेलेका डेयाल कप्तान एम्रिटको सिकार बनेका थिए। ३ छक्का प्रहार गरेका डियाल मिड अनमा सोडिको हातबाट समातिएका थिए। इनिङको अन्तिममा नाबीले २२ बलमा ३५ रनको पारी खेल्दै १७३ रनको विजयी लक्ष प्रस्तुत गर्न मुख्य भुमिका निर्वाह गरेका थिए। यस्तै, जर्दानले २८ रन बनाउदा कर्नवाल १६ रनमा रन आउट भएका थिए।

पेट्रियोट्सका लागि तनविर र जग्गेस्वरले समान २-२ विकेट हात पारे। निकै किफायती बलिङ गरेका एम्रिटले १ विकेट हात पार्दा अन्य बलरले विकेट लिन असफल रहे।

३ खेलमा २ जित हात पारेको जुक्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने पेट्रियोट्स ३ खेलमा हार बेहोर्दौ अंक तालिकाको पुच्छरमा रहेको छ।

२०७७ भाद्र ६, शनिबार मा प्रकाशित