इंग्लिस प्रिमियर लिगको नयाँ संस्करण आजबाट सुरु भएको छ। क्रावेन कटेज रंगशालामा सम्पन्न लिगको सुरुवाती खेलमा आर्सनलले फुलहाममाथी ३-० को फराकिलो जित दर्ता गरेको छ। आर्सनलका लागि डेब्युटन्ट्स विलियन र ग्याब्रियलले शानदार प्रदर्शन गरेका हुन्।
खेलको ८ औं मिनेटमा लाकाजेट्टले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। चेल्सीबाट यसै सिजन अनुबन्ध भएका विलियनले गोलपोष्ट नजिकबाट गरेको प्रहार गोलरक्षकले बचाएता पनि एलेसान्द्रे लाकाजेट्टले रिबाउन्डमा आएको बलमा कुनै गल्ती नगरी आर्सनललाई खेलमा अघि बढाएका थिए। २७ औं मिनेटको खेलमा विलियनले प्रहार गरेको फ्रिकिक बारमा लागेर फर्किएको थियो।
दोस्रो हाफमा राम्रो सुरुवात गरेको आर्सनलले ४९ औं मिनेटमा ग्याब्रियल मेघालहेल्जलेको गोलमा दोस्रो अग्रता लिएको थियो। विलियनको शानदार कर्नरमा उनले हेडर मार्फत गोल गरेका थिए। ग्याब्रियल यसै सिजन २३ मिलियन युरोमा लिल्लेबाट आर्सनल आएका थिए। उनी आर्सनलको लागि डेब्यु खेलमा गोल गर्ने तेस्रो डेफेन्डर बनेका छन्। यसअघि, स्टिव बौल्डले सन् १९९२ र थोमस वरमेलानले २००९ मा गरेका थिए।

त्यसपछि लगातार दबाब बनाएको आर्सनलले ५७ औं मिनेटमा कप्तान पिएरे-एमरिक औंवेमियाङको गोलमा अग्रता तेब्बर बनाएको थियो। बायाँ विंगबाट मुभ बनाएका औंवेमियाङले पेनाल्टी बक्स भित्रबाट शानदार प्रहार गर्दै गोल गरेका थिए। फुलहाम माथी ३-० को सहज जित हात पारेको आर्सनलले २००९-१० पश्चात् पहिलो पटक लगातार दुई सिजनमा सुरुवाती खेल जितेको छ।
घरेलु टोलि फुलहामले गोल गर्ने केही अवसर सिर्जना गरेता पनि त्यसलाई परिणत गर्न चुक्दा हार बेहोर्न पुग्यो। गत सिजनको सर्वाधिक गोल कर्ता एलेक्सानदर मिट्रोविच अन्तिम २७ मिनेट बाँकी रहदा मैदान प्रवेश गरेका थिए।
मिकेट अर्टेटाको आर्सनलले सहज जितसँगै नयाँ सिजनको सुखद सुरुवात गरेको छ। पहिलो अंकसहित डेब्युटन्ट्सहरुको शानदार प्रदर्शन आर्सनलको लागि आगामी खेलहरुको लागि सकारात्मक पक्ष बन्नेछ। यता, यसै सिजन इङ्ग्ल्यान्डको शिर्ष डिभिजन लिगमा बढुवा भएको फुलहामले सोचे अनुरुप सुरुवात गर्न सकेन।
अब फुलहामले आगामी खेलमा १९ सेप्टेम्बरमा लिड्सको सामने गर्नेछ भने आर्सनलले पनि सोही दिन घरेलु मैदानमा वेस्ट हामसँग प्रतिस्पर्धा गर्नेछ।
