भार्डीको दुई गोलमा लेस्टरको सहज जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राती सम्पन्न खेलमा लेस्टर सिटिले वेस्ट ब्रुममाथी ३-० को सहज जित हात पारेको छ। द हथर्न्स मैदानमा सम्पन्न खेलमा लेस्टर सिटिका लागि गत सिजन गोल्डेन बुट जितेका जेमि भार्डीले दुई गोल गरेका हुन्।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। निकै आक्रमक खेल पस्केको लेस्टरले ५९ औं मिनेटको खेलमा कास्टाग्नेको डेब्यु गोलको मद्धतमा सुरुवाती अग्रता लिएको थियो। लेस्टरले कास्टाग्नेलाई यसै सिजन एटालान्टाबाट २१.५ मिलियन पाउन्ड खर्चिएर भित्र्याएको थियो।

पहिलो हाफमा राम्रो प्रदर्शन गरेको ब्रुमले दोस्रो हाफमा पुर्ण रुपमा लय गुमाएको थियो। ७२ औं मिनेटको खेलमा ब्रुमका डिफेन्डर काइल बार्टलेले राम्रो रन बनाएका भार्डीलाई पेनाल्टी बक्सभित्र लडाएपछी लेस्टरले पेनाल्टी पाएको थियो। भार्डीले ७४ औं मिनेटको खेलमा पेनाल्टीलाई गोलमा परिणत गर्दै लेस्टरको अग्रता दोब्बर बनाएका थिए।

त्यसको १० मिनेट पश्चात् लेस्टरका जेम्स जस्टिनलाई दारा ओ’ शेले पेनाल्टी क्षेत्रभित्र लडाएपछी लेस्टरले दोस्रो पेनाल्टी पाएको थियो। ३३ वर्षीय भार्डीले पेनाल्टीमार्फत गोल गर्दै लेस्टरको जित पक्का गराएका थिए। ३-० को सहज जितसँगै लेस्टरले नयाँ सिजनको सुखद सुरुवात गरेको छ।

लेस्टर सिटिले आफ्नो आगामी खेलमा १९ सेप्टेम्बरमा एभर्टनको सामना गर्नेछ भने यसै सिजन प्रिमियर लिगमा बढुवा भएको वेस्ट ब्रुमले २० सेप्टेम्बरमा बर्नलीसँग भिड्नेछ।

२०७७ भाद्र २८, आईतवार मा प्रकाशित