टोटेनहमविरुद्ध एभर्टनको साँघुरो जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत नयाँ सिजनको आफ्नो पहिलो खेलमा एभर्टनले टोटेनहममाथी १-० को साँघुरो जित निकालेको छ। टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा एभर्टनका लागि डोमिनिक काल्भर्ट – लेविनले एकमात्र निर्णायक गोल गरेका हुन्।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। १६ औं मिनेटको खेलमा रिचार्लिसनले एभर्टनलाई खेलमा सुरुवाती अग्रता दिलाउने अवसर गुमाएका थिए। वन भर्सेस वनको स्थितिमा गोलरक्षक लोरिसलाई सहजै बिट गरेका उनले खाली पोष्टमा गोल गर्नबाट चुकेका हुन्। ओबर रन गरेका रिचार्लिसनले अनियन्त्रित भएर गरेको प्रहार आकासिएको थियो।

२३ औं मिनेटको खेलमा सनको प्रहारमा कप्तान केनले बललाई गोलको दिशा देखाउन चुक्दा टोटेनहम सुरुवाती अग्रता लिनबाट बन्चित बनेको थियो। ३२ औं मिनेटको खेलमा सनले मिलाएको बलमा डानी अलिले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहारमा एभर्ट्नका गोलरक्षक पिकफोर्ड बाधक बनेका थिए। त्यसलगत्तै, यसै सिजन रियल म्याड्रिडबाट एभर्ट्नमा अनुबन्ध भएका हामेस रोड्रिगेजले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार बाहिरिएको थियो।

४१ औं मिनेटको खेलमा ह्यारी केनले चलाखिपुर्ण चिप पासमा डोहर्टिले क्लोज रेन्जबाट गरेको प्रहार गोलरक्षक पिकफर्डले शानदार ढंगमा बचाएका थिए।

५५ औं मिनेटको खेलमा लुकास डिग्नेले गरेको फ्रिकिक प्रहारमा डोमिनिक काल्भर्ट लेविनले शानदार हेडर गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए। उनको यो एभर्टको लागि प्रिमियर लिगमा ब्यक्तिगत २५ औं गोल हो। २०१७-१८ सिजनयता हेडर मार्फत सर्वाधिक गोल गर्ने उनी तेस्रो खेलाडी समेत बनेका छन्। क्रिस वुडले सर्वाधिक १४ तथा ह्यारी केनले दोस्रो सर्वाधिक १२ हेडर मार्फत गोल गरिसकेका छन्।

खेलमा अन्य गोल सम्भव नहुदा प्रभावशाली प्रदर्शन गरेको एभर्टनले साँघुरो जित हात पारेको हो। टोटेनहमका प्रशिक्षक जोसे मौरिनहोले आफ्नो प्रशिक्षक करिअरमै पहिलो पटक सिजनको सुरुवाती खेलमा हार बेहोरेका छन्। खेलमा पोजेसन बनाएपनी राम्रो अवसर बनाउन नसकेको टोटेनहम सिजनको सुरुवाती खेलमा स्तब्ध बनेको छ।

एभर्टनले आफ्नो आगामी खेलमा २० सेप्टेम्बरमा साउथह्याम्पटनको सामने गर्नेछ भने टोटेनहमले १९ सेप्टेम्बरमा वेस्ट ब्रुमसँग प्रतिस्पर्धा गर्नेछ।

२०७७ भाद्र २९, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment