कारबाओ कप : शानदार जितसहित चेल्सी अर्को चरणमा

चेल्सीले इङलिस लिग कप (इएफएल) अर्थात कारबाओ कपमा च्याम्पियनसिप क्लब ब्रान्सेलेमाथी ६-० को फराकिलो जित दर्ता गर्दै आर्को चरणमा प्रवेश गरेको छ। घरेलु मैदान स्ट्राम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सिको जितमा काइ हाभर्टजले ह्याटि्रक गर्दा ट्यामी अब्राहम, रोस बार्कली र ओलिभर जिरुउडलेपनि समान एक-एक गोल गरे।

आक्रामक खेल पस्केको चेल्सीले १९ औं मिनेटमा ट्यामी अब्राहमको गोलमा सुरुवाती अग्रता हासिल गरेको थियो। २८ औ मिनेटमा मासन माउन्टको पासमा हाभर्टजले डेब्यु गोल गर्दै चेल्सिको अग्रता दोब्बर बनाएका थिए। हाभर्टज यसै सिजन बार्यन लेभर्कुसेनबाट कीर्तिमानी रकममा चेल्सीमा आबद्ध भएका थिए।

दोस्रो हाफको सुरुवातमै ४९ औ मिनेटमा रोज बार्कलीले गोल गरे। ५५ औ मिनेटमा हाभर्टजले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४-० ले अगाडी बढाउदा ६५ औ मिनेटमा हाभर्टजले आफ्नो ह्याट्रिक पूरा गरे। गोलको वर्षा यतिमै रोकिएन। ८३ औं मिनेटमा ओलिभर जिरुउडले गोल गर्दै चेल्सीलाई ६-० को फराकिलो जित दिलाए।

यस्तै अन्य खेलमा आर्सनलले प्रेमियर लिग प्रतिद्वन्दी कलब लेस्टर सिटीलाई २-० को गोल अन्तरले पराजित गरेको छ। एभर्टनले फ्लीटवुडलाई ५-२ को गोल अन्तरले पराजित गरेको छ भने न्यूक्यासल युनाईटेडले मोरकाम्बेलाई माथी ७-० को जित आत्मसाथ गरेको छ।

२०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित