IPL : मुम्बई दोस्रो जितसहित अकंतालिकाको शिर्ष स्थानमा, पन्जाब फराकिलो अन्तरले पराजित

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत बिहीबार सम्पन्न १३ औं खेलमा रोहित शर्माको कप्तानिमा रहेको मुम्बई इन्डियन्सले लोकेश राहुलको कप्तानिमा रहेको किङ्ग्स-११ पन्जाबलाई ४८ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको छ। जितसगैँ ४ खेलमा समान २ जित र २ हारसहित मुम्बई अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ। ४ खेलमा ३ हार बेहोरेको पन्जाब अंकतालिकाको छैटौं स्थानमा छ।

आबु धाबी स्थित शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९१ रन बनाउदै पन्जाबलाई १९२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा पन्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४३ रनमात्र बनाउन सक्यो।

१९२ रनको विशाल लक्ष्य पछ्याएको पन्जाबले राम्रो सुरुवात पाउन सकेन। प्रतियोगितामा उत्कृष्ट लयमा रहेका मायंक अगरवाल १८ बलमा २५ रन (३ चौका) बनाउदै पाचौं ओभरमा जस्फ्रित बुम्राहको बलिंगमा बोल्ड भए। ३ नम्बरमा ब्याटिंग गर्न आएका करुण नायरलाई शुन्यको स्कोरमा कृनल पाण्ड्याले पेभेलियनको बाटो देखाए। नवौं ओभरमा युवा लेग स्पिनर राहुल चाहरले कप्तान लोकेश राहुललाई १७ रनमा बोल्ड गर्दै पन्जाबलाई दबाबमा ल्याए।

जितसंगै मुम्बई अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ

चौथौ नम्बरमा ब्याटिंग गर्न आएका निकोलास पुरनले २७ बलमा ३ चौका र २ छक्काको मद्दतमा ४७ रन बनाउदै पन्जाबको पारी उकासे। ऊनी प्याटिन्सनले बलिंगमा डिककको हातबाट समातिए।  ग्लेन म्याक्स्वेललाई ११ रनमा राहुल चाहरले आउट पार्दै पन्जाबको जितको आशा समाप्त पारे। गौथम १३ बलमा २२ रन (२ चौका र १ छक्का) बनाएर अविजित रहे। अन्य कोहि ब्याट्सम्यानले दोहोरो अकंमा रन बनाउन नसक्दा पन्जाबले फराकिलो हार बेहोर्न पुग्यो।

पन्जाबलाई झिनो स्कोरमा रोक्न राहुल चाहर (४-०-२६-२), जस्प्रित बुम्राह (४-०-१८-२ ) र जेम्स प्याटिन्सनले (४-०-२८-२) समान २-२ विकेट लिए। यस्तै, ट्रेन्ट बोल्ट (४-०-४२-१) र क्रुनल पाण्ड्याले (४-०-२७-१) समान १-१ विकेट हात पारे।

रोहितको अर्धशतक र पोलार्ड, पाण्ड्याको विस्फोटक पारी

यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९१ रन बनाएको थियो जसक्रममा कप्तान रोहित शर्माले ४५ बलमा ७० रनको (८ चौका र २ छक्का) अर्धशतकिय पारी खेलेका थिए। ओपनर ब्याट्सम्यान क्विन्टन डिकक शुन्यको स्कोरमा शेल्डन कोट्रेलको पहिलो ओभरमा बोल्ड भएपछि ३ नम्बरमा ब्याटिंग गर्न आएका सूर्यकुमार यादव व्यक्तिगत १० रनको स्कोरमा दुर्भाग्यपुर्ण तरिकाले रन आउट भए।

पछिल्लो खेलमा रोयल च्यालेंजर्स बैंगलोर विरुद्ध ९९ रनको पारी खेलेका इशान किशन र रोहितले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दा मुम्बई सम्हालिएको थियो। ३२ बलमा २८ रनको ( १ चौका र १ छक्का) सुस्त पारी खेलेका किशन कृष्णप्पा गौथमको बलिंगमा करुण नायरको हातबाट समातिए।

कप्तान रोहित शर्माले सर्वाधिक ७० रन बनाए

क्रिजमा जमिसकेका रोहित ७० रनको कप्तानी पारी खेलेर १७ औं ओभरमा मोहम्मद शामीको शिकार बने जसदौरान रोहित र पोलार्डले चौथौ विकेटका लागि ४१ रनको आक्रामक साझेदारी गर्दै मुम्बईलाई अघि बढाए।

त्यसपछि ब्याटिंगमा आएका हार्दिक पाण्ड्याले कायरन पोलार्डसगँ पाचौं विकेटका लागि ६७ रनको विस्फोटक साझेदारी गर्दै मुम्बईलाई १९२ रनको विशाल योगफलतर्फ डोर्याए। पोलार्डले २० बलमा ३ चौका र ४ छक्काको मद्दतमा ४७ रन बनाउदा पाण्ड्याले विस्फोटक ब्याटिंग गर्दै मात्र ११ बलमा ३० रन बनाए। उनले ३ चौका र २ छक्का प्रहार गरे।

पन्जाबको बलिंगतर्फ शेल्डन कोट्रेलले (४-०-२०-१) किफायती बलिंग गर्दै १ विकेट लिए। यस्तै, अर्का तिव्र गतिका बलर मोहम्मद शामि (४-०-३६-१) र कृष्णप्पा गौथमले (४-०-४५-१) समान १-१ विकेट लिदा अन्य बलर विकेटविहिन रहे।

आगामी खेल :- प्रतियोगिता अन्तर्गत भोलि (शुक्रबार) को खेलमा चेन्नाई सुपर किङ्ग्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ। यस्तै, मुम्बईले अक्टोबर ४ मा हैदराबादसगँ प्रतिस्पर्धा गर्दैछ भने पन्जाबले पनि सोही दिन चेन्नाईको सामाना गर्नेछ।

२०७७ आश्विन १६, शुक्रबार मा प्रकाशित