IPL : रोमाञ्चक खेलमा हैदराबादको साँघुरो जित

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शुक्रबार सम्पन्न १४ औं खेलमा डेभिड वार्नरको कप्तानीमा रहेको सनराइजर्स हैदराबादले महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाई सुपर किङ्ग्सलाई ७ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको छ। ४ खेलमा २ जितसहित हैदराबाद अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ भने लगातार ३ खेलमा पराजित भएको चेन्नाई अंकतालिकाको पुछारमा यथावत रहेको छ।

टस जितेर पहिले ब्याटिंगको निर्णय लिएको हैदराबाले १६५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा चेन्नाईले निर्धारित २० ओभरमा मात्र १५७ रन बनाउन सक्यो।

प्रतिस्पर्धात्मक योगफलको पिछा गरेको चेन्नाईले राम्रो सुरुवात पाउन सकेन। तेस्रो ओभरमा भुवनेश्वर कुमारले शेन वाट्सनलाई ब्यक्तिगत १ रनको स्कोरमा आउट बनाए। चोटका कारण पछिल्लो २ खेल गुमाएका अम्बाती रायडु ८ रनमा नटराजनको बलिंगमा बोल्ड भए।फाफ डुप्लेसिस १९ बलमा २२ रन (४ चौका) बनाएर रन आउट हुन पुगे। पावरप्लेमा निकै खराब सुरुवात गरेको चेन्नाईले ३ विकेट गुमाउदा दबाबमा आएको थियो।

जडेजाले सर्वाधिक ५० रन बनाए

राम्रो साझेदारी गर्न नसक्दा चेन्नाईले नवौं ओभरमा ३ रन बनाएका केदार जाधावलाई गुमायो। त्यसपछि, कप्तान महेन्द्र सिंह धोनी र रभिन्द्र जडेजाले पाचौं विकेटका लागि ७२ रनको महत्वपूर्ण साझेदारी गर्दै खेलमा चेन्नाईको जितको आशा कायम राखे। जडेजाले ३५ बलमा ५० रनको अर्धशतकिय पारी खेल्दै नटराजनको बलिंगमा अब्दुल समादको हातबाट समातिए। उनले ५ चौका र २ छक्का प्रहार गरे।

कप्तान धोनीले ३६ बलमा ४७ रनको अविजित पारी खेलेता पनि टिमलाई जितसम्म डोर्‍याउन असफल रहे। धोनीले ४ चौका र १ छक्का प्रहार गरे। अन्तिममा स्याम करनले ५ बलमा २ छक्काको मद्दतमा १५ रन बनाएर अविजित रहे।

चोटका कारण भुवनेश्वर कुमार १९ औं ओभरको पहिलो बल गरेर मैदान छाड्न बाध्य भएका थिए। त्यस ओभर खलिल अहमदले गर्दा अन्तिम ओभर १८ वर्षिय लेग स्पिनर समादले गरे जसले चेन्नाईलाई २८ रनको आवस्यक पर्दा आफ्नो टिमलाई जित दिलाए।

प्रतिस्पर्धात्मक योगफलको रक्षा गर्ने क्रमम नटराजनले (४-०-४३-२) २ विकेट लिए। यस्तै, कुमार (३.१-०-२०-१) र अब्दुल समादले (४-०-४१-१) समान १-१ विकेट लिदा अन्य बलर विकेटविहिन रहे।

हैदराबादको ब्याटिंगमा चम्किए गर्ग 

दुबई अन्तरास्ट्रिय क्रीकेट स्टेडियममा पहिले टस जितेर ब्याटिंग रोजेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो जसका लागि युवा खेलाडी गर्गले लिगमा आफ्नो पहिलो अर्धशतक बनाए।

हैदराबादले खेलमा राम्रो सुरुवात गर्न सकेन। राम्रो स्विंग प्राप्त गरेका दिपक चाहरले पछिल्लो खेलमा ५३ रन बनाएका जोनी बेयरस्टोलाई खाता नखोल्दै पहिलो ओभरमा बोल्ड गरे। ३ नम्बरमा ब्याटिंग गर्न आएका मनिष पाण्डेले २१ बलमा ५ चौकाको मद्दतमा २९ रन बनाए जुनक्रममा कप्तान वार्नरसँग दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गर्दै हैदराबादको इनिंग अघि बढाए। पाण्डेलाई जारी सिजन आफ्नो पहिलो खेल खेलिरहेका शार्दुल ठाकुरले स्याम करनको हातबाट आउट गराए।

गर्गले लिगमा आफ्नो पहिलो अर्धशतक बनाए

वार्नरले तेस्रो विकेटका लागि ४ नम्बरमा ब्याटिंग गर्न आएका केन विलियमसनसँग २२ रनको साझेदारी गर्दा हैदराबाद सम्हालिएको थियो। वार्नर २९ बलमा २८ रनको सुस्त पारी खेल्दै ११ औं ओभरमा पियुष चावलाको बलिंगमा फाफ डुप्लेसिसको हातबाट समातिए। लगत्तै सोही ओभरमा प्रियम गर्ग र विलियमसनबिच तालमेल नमिल्दा विलियमसन १३ बलमा ९ रन बनाएर रन आउट भए जसपछि हैदराबाद दबाबमा आएको थियो।

पाचौं विकेटका लागि दुई युवा खेलाडि अभिषेक शर्मा र प्रियम गर्गले ७७ रनको साझेदारी गर्दै हैदराबादलाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याए। शर्मा २४ बलमा ३१ रन (४ चौका र १ छक्का) बनाएर १८ औं ओभरमा दिपक चहारको शिकार बने। सोहि ओभर लगातार २ बलमा रविन्द्र जडेजा र शार्दुल ठाकुरले सहज क्याच छाडेका थिए।

अन्तिममा प्रियम गर्गले ५१ रनको विस्फोटक अविजित पारी खेल्दै हैदराबादको स्कोर अघि बढाए। उनले ६ चौका र १ छक्का प्रहार गरे।

चेन्नाईको बलिंगमा दिपक चाहरले सर्वाधिक २ विकेट ( ४-०-३१-२ ) लिए।  पियुष चावला ( ३-०-२०-१ )  र शार्दुल ठाकुरले ( ४-०-३२-१ )  समान १ विकेट लिए। ड्वे ब्राभो ( ४-०-२८-० )  , रभीन्द्र जडेजा ( २-०-१६-० ) र स्याम करन ( ३-०-३७-० ) विकेटविहिन रहे।

आगामी खेल :- प्रतियोगिता अन्तर्गत भोलि (शनिबार) २ खेल हुँदैछ। पहिलो खेलमा बैंगलोर र राजस्थान ३:४५ बजे बेलुकातथा दोश्रो खेलमा दिल्ली र कोलकाता ७:४५ बजे राति खेलिनेछ। हैदरावादले आगामी खेल आइतबार मुम्बई इन्डीएन्स बिरुद्ध खेल्नेछ। चेन्नाईले पनि आइतबार किंग्स ११ पन्जाब बिरुद्ध खेल्ने तालिका रहेको छ।

२०७७ आश्विन १७, शनिबार मा प्रकाशित