IPL : हैदराबादलाई पराजित गर्दै मुम्बई अंकतालिकाको शिर्ष स्थानमा

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत आइतबार दिउँसो सम्पन्न १७ औं खेलमा रोहित शर्माको नेतृत्वमा रहेको मुम्बई इन्डियन्सले डेभिड वार्नरको नेतृत्वमा रहेको सनराइजर्स हैदराबादलाई ३४ रन पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ। ५ खेलमा ३ जित र २ हारसहित मुम्बई अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ भने समान ५ खेलमा २ जित र ३ हारपछि हैदराबाद अकंतालिकाको छैटौं स्थानमा छ।

शारजाह स्टेडियममा टस जितेर पहिले ब्याटिंगको निर्णय लिएको मुम्बईले २०९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन मात्र बनाउन सक्यो।

राम्रो सुरुवात गरेता पनि लगातार अन्तरालमा विकेट गुमाएको हैदराबका लागि कप्तान डेभिड वार्नरले ६० रन बनाए। ४४ बलको सामना गरेका उनले ५ चौका र २ छक्का हिर्काए। हैदराबादको सबै ब्याट्सम्यानले राम्रो सुरुवात पाएता पनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न सकेनन्।

ओपनर जोनि बेयरस्टोले १५ बलमा समान २ छक्का र २ चौकाको मद्दतमा २५ रन बनाए। तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका मनिष पाण्डेले ३० रनको आक्रामक पारी खेले। १९ बलको सामना गरेका उनले ४ चौका र १ छक्का प्रहार गरे।

केन विलियमसनले ३, प्रियम गर्गले ८ तथा अभिषेक शर्माले १० रन बनाए। ९ बलमा २० रन बनाएका अब्दुल समादले २ छक्का र १ चौका प्रहार गरे। हैदराबादले राम्रो साझेदारी गर्न नसक्दा खेल गुमाउनु पर्यो।

मुम्बईको बलिंगमा जस्प्रित बुम्राह ( ४-०-४१-२ ), ट्रेन्ट बोल्ट ( ४०-२८-२ ) र जेम्स प्याटिन्सन ( ४-०-२९-२ ) ले समान २ विकेट लिए। क्रुनाल पान्ड्या ( ४-०-३५-१ ) ले १ विकेट। काइरन पोलार्ड ( ३-०-२०-० ) र राहुल चाहर ( १-०-१६-० ) विकेटविहिन रहे।

मुम्बईको ब्याटिंग

यसअघि शारजाह मैदानमा टस जितेर पहिले ब्याटिंग रोजेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २०८ रन बनाएको थियो।

कप्तान रोहित शर्मा ६ रन बनाएर पहिलो ओभरमै सन्दिप शर्माको बलिङमा विकेटकिपर जोनि बेयर्स्टोको हातबाट समातिए । मुम्बईका लागि ओपनर क्विन्टन डिककले ३९ बलमा सर्वाधिक ६७ रन बनाए। जारी सिजन आफ्नो पहिलो अर्धशतक बनाउने क्रममा उनले समान ४ चौका र ४ छक्का प्रहार गरे। सुर्यकुमार यादव १८ बलमा ६ चौकाको मद्दतमा २७ रन बनाएर छैटौं ओभरमा आउट भए।

चौथो नम्बरमा ब्याटिंग गर्न आएका इशान किशनसँग डिककले ७८ रनको साझेदारी गर्दै मुम्बईको स्कोर अघि बढाए। किशन २३ बलमा ३१ रन (१ चौका र २ छक्का) बनाएर आउट भए। हार्दिक पाण्ड्या १८ बलमा २८ रन बनाएर (२ चौका र २ छ्क्का) अन्तिम ओभरमा सिद्वार्थ कौलको बलिंगमा बोल्ड भए।

विस्फोटक ब्याटिंग गरेका कायरन पोलार्ड १३ बलमा २५ रन ( ३ छक्का) बनाएर अविजित रहे। अन्तिम ४ बलमा क्रुनल पाण्ड्याले समान २ चौका र २ छक्का प्रहार गर्दै मुम्बईलाई विशाल योगफलतर्फ डोर्याएर। उनले ४ बलमा अविजित २० रन बनाए।

हैदराबादको बलिंगतर्फ जारी सिजन आफ्नो पहिले खेल खेलिरहेका सिद्धार्थ कौलले ४ ओभरमा ६४ रन खर्चेर २ विकेट लिए। नटराजनले विकेट नलिए पनि ४ ओभरमा २९ रन मात्र खर्चिए। अब्दुल सामद ( २-०-२७-० ) र केन विलियमसन ( २-०-२४-० ) पनि विकेटविहिन रहे।

२०७७ आश्विन १८, आईतवार मा प्रकाशित