भार नायक बन्दा लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग अन्तर्गत छैटौं चरणको खेलमा साविक विजेता लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ। एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा गए राती सम्पन्न खेलमा लिभरपुल र एभर्टनले २-२ को बराबरी खेलेका हुन्।

प्रतिस्पर्धात्मक खेलको ३ औं मिनेटमा साडियो मानेले गोल गर्दै पाहुना टोलि लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। जोर्डान हेन्डरसनले  दायाँ विंगबाट दिएको पासको सदुपयोग गर्दै मानेले गोल गरेका थिए। छैटौं मिनेटमा फाबिन्होले दिएको थ्रु पासमा एभर्टनका गोलरक्षक पिक फोर्डले भर्जिल भ्यान डाएकलाई पेनाल्टि क्षेत्र भित्र लडाएपछि चोटिल भएका डाएक सुरुवाती मिनेटमै मैदान बाहिरिन बाध्य भएका थिए।

आक्रामक खेल पस्केको एभर्टनले १९ औं मिनेटमा बराबरी गोल फर्काएको थियो। हामेस रोड्रिगेजले गरेको कर्नरमा माइकल कीनले हेडर मार्फत गोल गरेका थिए। लिभरपुलका गोलरक्षक एड्रियनको फितलो बचाउको कारण उक्त गोल सम्भव भएको थियो। २४ औं मिनेटमा ट्रेन्ट एलेक्जेन्डर-आर्नोल्डले गरेको फ्रिकिकमा फोर्डले उत्कृष्ट बचाउ गरेका थिए। ४३ औं मिनेटमा रिचार्लिसनले गरेको प्रहार आकासिएको थियो।। पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो

५० औं मिनेटको खेलमा डोमिनिक काल्भर्ट – लेविनले वन भर्सेस वनको स्थितिमा बललाई गोलको दिशा दिखाउदा एड्रियनले उत्कृष्ट बचाउ गरेका थिए। ७२ औं मिनेटमा मोहम्मद शलाहले शानदार गोल गर्दै लिभरपुललाई अगाडि बढाएका थिए। एभर्टनका डिफेन्डर येरी मिनालाई  लाएर आएको बललाई शलाहले पेनाल्टि क्षेत्र भित्रबाट भलि मार्फत गोल गरेका थिए। शलाहको यो लिभरपुलका लागि १०० औं गोल हो। ७९ औं मिनेटमा शलाहले गरेको प्रहारलाई फोर्डले पन्च गर्दै विफल पारेका थिए।

खेलको ८१ औं मिनेटमा डोमिनिक काल्भर्ट – लेविनले उत्कृष्ट हेडर गोल गर्दै एभर्टनका लागि १ अंक सुनिश्चित पारेका थिए। राम्रो लयमा रहेका काल्भर्ट – लेविन लिगको सुरुवाती ५ खेलमा गोल गर्ने चौथौं खेलाडी बनेका छन्। एभर्टनले यससँगै जारी सिजन आफ्नो अपराजित यात्रा कायम राखेको छ। लिभरपुल पछिल्ला २३ खेलमा एभर्टनसंग अपराजित रहेको छ।

९० औं मिनेटको खेलमा रिचार्लिसन रोतो कार्ड बेहोर्दै मैदान बाहिरिएका थिए। १० खेलाडीमा सिमित एभर्टनको फाइदा उठाउदै हेन्डरसनले लिभरपुललाई अन्तिम मिनेटमा अग्रता दिलाएका थिए। तर, भारको प्रयोगमा उक्त गोल रद्द हुदाँ लिभरपुलले १ अंकमा चित्त बुझाउनु परेको थियो।

जारी सिजन अपराजित रहेको एभर्टन ५ खेलमा १३ अंक बटुल्दै तालिकाको शिर्ष स्थानमा यथावत रहेको छ। समान खेलमा १० अंक बटुल्दै लिभरपुल दोस्रो स्थानमा छ।

सिटि र युनाइटेड विजयी, चेल्सी बराबरीमा रोकियो  

यस्तै गए रातीनै सम्पन्न अन्य खेलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड विजयी भएका छन्। सिटीले आर्सनलमाथि १-० को साँघुरो जित दर्ता गरेको छ। रहिम स्ट्रालिंगले २३ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। युनाइटेडले न्युक्यासल युनाइटेडलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ। चेल्सी साउथ्याम्प्टनसँग ३-३ को बराबरीमा रोकिएको छ।

२०७७ कार्तिक २, आईतवार मा प्रकाशित