एटलान्टासंग लिभरपुल स्तब्ध

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधवार राति सम्पन्न खेलमा इंग्लिस च्याम्पियन लिभरपुल इटालियन क्लब एटलान्टासंग स्तब्ध बनेको छ।समुह ‘डी’ अन्तर्गत लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा लिभरपुलले २-० को अप्रत्यासित हार बेहोरेको हो। यस अघि च्याम्पियन्स लिग अन्तर्गतनै ४ नोभेम्बरमा भएको खेलमा लिभरपुलले एटलान्टाविरुद्ध  ५-० को फराकिलो जित दर्ता गरेको थियो।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा लिभरपुलमाथि दबदबा कायम राखेको एटलान्टाले ६० औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो। पाहुना टोलीका लागि कप्तान गोमेजको पासमा इलिचिचले गोल गरेका थिए। त्यसको ४ मिनेट नबित्दै एटलान्टाले आफ्नो अग्रता दोब्बर पार्यो। हान्स हाटबोएरको पासमा रोबिन गोसेन्सले गोल गर्दै एटलान्टालाई जित दिलाए। च्याम्पियन्स लिग अन्तर्गत एटलान्टा पछिल्लो ४ अवे खेलमा अपराजित छ जसदौरान ३ खेलमा क्लिन सिट राखेको छ।

लिभरपुल २०१८ सेप्टेम्बरपछि पहिलो पटक घरेलु मैदानमा पराजित भएको हो। प्रशिक्षक युर्गेन क्लोपको नेतृत्वमा लिभरपुल पहिलो पटक घरेलु मैदानमा १ भन्दा बढी गोल बेहोर्दै पराजित भएको छ। हारपश्चात् लिभरपुल ४ खेलमा ९ अंक बटुल्दै समुह ‘डी’ को शिर्ष स्थानमा यथावत रहेको छ। यस्तै, ४ खेलमा ७ अंक बटुल्दै आयाक्स र एटलान्टा गोल अन्तरको आधारमा क्रमसः दोस्रो र तेस्रो स्थानमा छन्। समूहको शिर्ष-२ टोलि अर्को चरणका लागि छनोट हुनेछन्।

२०७७ मंसिर ११, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment