इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा लन्डन क्लब आर्सनलले वोल्भ्ससंग २-१ को हार बेहोरेको छ। आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा वोल्भ्सका लागि पेड्रो नेटो र ड्यानियल पोडेन्सले समान १-१ गोल गरे। आर्सनलका लागि गाब्रियलले गरेको गोल सान्त्वना बन्यो। आर्सनलको घरेलु मैदानमा यो लगातार तेस्रो हार हो। यसअघि लिग अन्तर्गत आर्सनलले घरेलु मैदानमा लगातार ३ हार बेहोरेको थिएन।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको २७ औं मिनेटमा नेटोले गोल गर्दै भ्रमण टोलि वोल्भ्सलाई सुरुवाती अग्रता दिलाएका थिए। एडमा ट्राओरेले गरेको क्रस पासमा लिन्डर डिनडनकरको गरेको हेडर बारमा लागेर फर्किएपछि रिबाउन्डमा आएको बललाई नेटोले क्लोज रेंचबाट प्रहार गर्दै गोलको दिशा देखाएका थिए। गत साता साउथ्याम्प्टन विरुद्ध परिवर्तन भएर गोल गरेका उनले आर्सनविरुद्ध पहिलो रोजाईमा मौका पाएका थिए।
३० औं मिनेटमा गाब्रियलले गोल गर्दै घरेलु टोलि आर्सनललाई खेलमा फर्काए। चलाखीपूर्ण रुपमा विलियनले गरेको क्रसमा उनले हेडरमार्फत सानदार गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए। ४२ औं मिनेटमा ड्यानियल पोडेन्सले गोल गर्दै वल्भ्सलाई २–१ को अग्रता दिलाए । ट्राओरेलेले सानदार टन गरेर दिएको पासको सदुपयोग गर्दै नेटोले गरेको प्रहार आर्सनलका गोलरक्षकले राम्रो बचाउ गरेता पनि रिबाउन्डमा आएको बललाई पोडेन्सले जाली चुमाउदै वोल्भ्सलाई जित दिलाएका थिए।

खेलदौरान ५ औं मिनेटमा वोल्भ्सका प्रमुख स्ट्राइकर राहुल हिमिनेज चोटका कारण मैदान बाहिरिन बाध्य भएका थिए। १० मिनेट मैदान भित्र उनको उपचार गरेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। डेविड लुइज र राहुल एक अर्कासंग ठोकिएपछि दुवै खेलाडी मैदानमा लडेका थिए। लुइजले ब्यान्डेज लगाएर पहिलो हाफसम्म मैदानमा समय बिताएता पनि रगत बगेपछि दोस्रो हाफमा मैदान छाड्न बाध्य भएका थिए।
सुरुवाती १० खेलमा मात्र १३ अंक बटुलेको आर्सनलले १९८१-८२ को सिजनपछि कुनै पनि प्रतियोगितामा कम अंक जोडेको हो। यस्तै, १० खेलमा १७ अंक बटुलेको वोल्भ्सले १९७९-८० को सिजनपछि कुनै पनि शिर्ष डिभिजन लिगमा सर्वाधिक अंक जोडेको हो। अर्टेटाको प्रशिक्षणमा सुरुवाती २२ खेलमा मात्र ५ हार बेहोरेको आर्सनल पछिल्लो ८ लिग खेलमा ५ पटक पराजित भएको छ। हारपछि आर्सनल अंकतालिकाको १४ औं स्थानमा छ भने सानदार जित निकालेको वोल्भ्स छैटौं स्थानमा उक्लिएको छ।
