आश्विन चम्किदा अस्ट्रेलिया १९१ रनमै सिमित, भारतलाई ५३ रनको अग्रता

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत एडीलेड ओभलमा जारि चार टेस्टको सिरिज अन्तर्गत पहिलो डे-नाइट टेस्ट जारी रहेको छ।

पहिलो इनिंगमा भारत २४४ रनमा समेटिएपछि पहिलो इनिंगमा अस्ट्रेलियाले ७२.१ ओभरमा १९१ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको छ। पहिलो इनिंगमा भारतले ५३ रनको अग्रता लिंदै दोश्रो दिननै ब्याटिंग सुरु गर्नेछ।

अस्ट्रेलियाको लागि कप्तान टिम पेनले सर्वाधिक अविजित ७३ रन बनाए जुन क्रममा ९९ बलमा १० चौका प्रहार गरे। मार्नस लाबुसेनले ४७ रन बनाए। मिचेल स्टार्कले १५, क्यामरन ग्रिनले ११, तथा नाथन लायनले १० रन बनाए। म्याथु वेड र जोए बर्न्सले समान ८ रन, स्टिभ स्मिथले १ तथा ट्राभिस हेडले ७ रन बनाए।

टिम पेनले सर्वाधिक अविजित ७३ रन बनाए

लगातार विकेट गुमाएको अस्ट्रेलियाको विकेट पतनको सुरुवात जस्प्रित बुम्राहले गरेका थिए जसले ओपनर म्याथु वेड र जोए बर्न्सलाई पेभेलियन फर्काए। त्यसपछि अफस्पिनर रभीचन्द्रन आश्विनले स्टिभ स्मिथ, ट्राभिस हेड र क्यामरन ग्रिनलाई पेभेलियन फर्काउदा अस्ट्रेलिया ७९/५ को अवस्थामा पुगेको थियो। त्यसपछि ब्याटिंग गर्न आएका कप्तान पेनले तल्लो क्रमका ब्याट्सम्यानहरुसंग साझेदारी गर्दै अन्तिमसम्म ब्याटिंग गरे।

भारतको बलिंगमा रभीचन्द्रन आश्विनले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १८ ओभरमा ३ मेडन ओभर गर्दै ५५ रन खर्चिए। फास्ट बलर उमेश यादवले ३ ( १६.१-५-४०-३ ) तथा जस्प्रित बुम्राह ( २१-७-५२-२ ) ले २ विकेट लिए।

यस अघि पहिलो दिन २३३ रनमा ६ विकेट गुमाएको अवस्थामा दिनको अन्त्य गरेको भारतले दोश्रो दिन मात्र ११ रन जोड्दा बाँकी ४ विकेट गुमाउन पुग्यो।

भारतको लागि कप्तान बिराट कोहलीले सर्वाधिक ७४ रन बनाए। चेतेश्वर पुजाराले ४३ तथा अजिंके रहानेले ४२ रन बनाए। अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्कले ४ तथा प्याट कमिन्सले ३ विकेट लिए।

 यो पनि पढ्नुस :-

डेब्युमा डफीले कीर्तिमानी बलिंग गर्दा न्युजिल्यान्डद्वारा पाकिस्तान पराजित

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ व्हाटमोर नियुक्त, चिन्नुस को हुन् व्हाटमोर

टि-२० विश्वकप २०२२ : नेपाल सिधै ग्लोबल छनोटमा

२०७७ पुष ३, शुक्रबार मा प्रकाशित