शुक्रबारदेखि पोखरामा शुरु भएको गण्डकी प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा कास्कीले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा कास्कीले स्याँग्जामाथि ७ विकेटको जित दर्ता गरेको हो ।
टस जितेर ब्याटिंग गरेको स्याँग्जाले ३८.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय १९ रनको झिनो योगफल तयार पारेको थियो । उसका लागि विष्णु पाण्डेले सर्वाधिक ४१, सौजन्य रेग्मीले २६ तथा लोकेन्द्र सोमाईले १० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कास्कीको बलिंगतर्फ विश्व कार्की र सुबास भण्डारीले समान ३ विकेट लिए भने कृष्ण पौडेल, अमृत गुरुङ्ग, र विपिन खत्रिले समान १ विकेट हात पारे।
१ सय २० रनको विजयी लक्ष्य पछ्याएको कास्कीले २८.४ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो। कास्कीका लागि अभिषेक थापाले अविजित ४३, सुदिप पौडेलले अविजित २१ रन तथा अर्जुन कुमालले २२ रन बनाए।
स्याँग्जाको बलिंगतर्फ सुरज गुरुङले २ तथा अंकित न्युपानेले १ विकेट लिए।
खेलमा ३ विकेट लिएका कास्कीका विश्व कार्की प्लेयर अफ द म्याच घोषित भए। जितसंगै कास्कीले अंकतालिकामा २ अंक जोडेको छ।
राउण्ड रोबिन लिगमा हुने प्रतियोगितामा शनिबार तनहुँ र नवलपुरबीच प्रतिस्पर्धा हुनेछ ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलुकद परिषद्का सदस्य सचिव रमेश कुमार सिल्वालले पोखरा क्रिकेट मैदान क्रिकेट खेल्नका लागि संसारकै अलौकिक खेल मैदान भएको जनाउँदै यसको स्तरोन्नती गर्दै लैजानुपर्नेमा जोड दिएका थिए । उनले नेपालमा १० वटा ठूला क्रिकेट मैदान बन्ने क्रममा रहेको जनाउँदै आउँदो चार पाँच वर्षभित्र नेपालका सातै प्रदेशमा अन्तराष्ट्रिय क्रिकेट सञ्चालन गर्न सकिने मैदान तयार हुने दावी गरे । गण्डकी प्रदेश सरकारले चासो देखाएको पशुपति घाटको क्रिकेट मैदानको पनि डिपिआर तयार भइसकेको बताउँदै यहाँपनि मैदान तयार पार्दै खेल्दै जानुपर्ने औल्याए ।
आयोजक गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुले पोखरामा क्रिकेट विकासका लागि सधै माछापुच्छे फेवाताल भनेर मात्रै नपुग्ने बताए । उनले क्रिकेट विकासका लागि पहिला पूर्वाधारकै विकास हुनुपर्नेमा जोड दिए । पोखरा रंगशाला भित्रको क्रिकेट मैदानमा एउटा चेन्जिंग रुम र कार्यालय कोठा समेत नहुँदा संघ तथा खेलाडीहरु मर्कामा परेको बताए । आयोजक संघका सचिव सुमन राज कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।
