प्रधानमन्त्री कप ढिला सुरु हुने

नेपाल क्रिकेट संघले पुष ११ गते देखि सुरु गर्ने भनिएको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिता ढिला सुरु हुने भएको छ।

यस अघि प्रधानमन्त्री कप एकदिवसीय ‘महिला’ र ‘पुरुष’ एकै मितिमा आयोजना गर्ने बताईएको थियो।  त्यसै अनुरुप प्रदेशहरुले पुरुष र महिलातर्फको छनोट खेलहरु आयोजना गरेको थियो। महिला क्रिकेट दाङमा निर्धारित मितिमै आयोजना हुनेछ जसको खेलतालिका एक-दुई दिन भित्र सार्वजनिक हुनेछ।

नेपाल क्रिकेट संघ श्रोतका अनुसार काठमाडौँमा आयोजना हुने पुरुषतर्फको प्रतियोगिता कम्तिमा १० दिन सर्नेछ। महिलातर्फको प्रतियोगिता समाप्त भएपछि मात्र पुरुषको प्रतियोगिता योजना हुनेछ। यसको अर्थ पुषको अन्तिममा या माघमा प्रतियोगिता आयोजना हुन सक्छ।

प्रतियोगिता निर्धारित समयमा आयोजना नहुनुको कारण तयारीको लागि पर्याप्त समय नहुनु तथा अझ मुख्य गरि क्यानसंग आयोजना गर्ने आर्थिक श्रोत नहुनु हो। आईसीसीले बजेट उपलब्ध नगराएको अवस्थामा क्यानले आफ्नै बलमा प्रतियोगिता आयोजना गर्न आर्थिक रुपमा असम्भव जस्तो रहेको छ।

श्रोतका अनुसार क्यान अध्यक्ष चतुर बहादुर चन्दले प्रधानमन्त्री कपको पुरुष संस्करण लिग फर्म्याटमा आयोजना गर्ने प्रस्ताब गरेका छन्। सहभागी सबै प्रदेश र बिभागको टिमहरुले एक-अर्का बिरुद्ध कम्तिमा एउटा खेल्ने गरि सिंगल राउण्ड रोबिन फर्म्याटमा प्रतियोगिता आयोजना गर्ने प्रस्ताव पनि अघि बढेको छ। यदी त्यसो भएको खण्डमा चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको नमुना मैदानलाई टियु मैदान र मुलपानी मैदानपछि तेश्रो मैदानको रुपमा प्रयोग गर्न सकिने बताईएको छ।

अघिल्लो प्रधानमन्त्री कप २०१९ मे-जुनमा आयोजना भएको थियो। उक्त संस्करणमा सहभगी टिमहरुलाई २ वटा समुहमा बिभाजन गरेर समुहमा एकअर्का बिरुद्ध १/१ खेल खेल्ने र त्यसपछि सेमीफाइनल र फाइनल खेलाईएको थियो।

यसै वर्षको सुरुवातमा क्यानले प्रतियोगिता आयोजना गर्ने तयारी गरेता पनि कोरोनाका कारण आयोजना सम्भव भएको थिएन।

पिएम कपमा ७ प्रदेश र तीन विभागीय टोली गरी कुल १० टोलीबीच प्रतिस्पर्धा हुने छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पिएमकपको लागि ४० लाख रुपैयाँ छुट्याएको छ ।

क्यान निलम्बनमा हुँदा राखेपले पिएमकप सन् २०१७ देखि सुरु गरेको थियो । पहिलो संस्करणको फाइनल वर्षाको कारण प्रभावित हुँदा उपाधि नेपाल आर्मी र नेपाल पुलिस क्लबले संयुक्त रुपमा बाँडेका थिए । दोस्रो संस्करण २०१८ को फाइनलमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करण २०१९ मा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो ।

प्रतियोगिताको विजेताले २० लाख र उप विजेताले १० लाख रुपैयाँ प्राप्त गर्दै आएका छन् ।

२०७७ पुष ५, आईतवार मा प्रकाशित