बिग ब्यास : सिड्नको जितमा क्रिस्टियनको अल-राउण्ड प्रदर्शन

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न ११ औं खेलमा सिड्नी सिक्सरले एडिलेड स्ट्राइकर्समाथि ३८ रनको जित दर्ता गरेको छ। जितसंगै सिक्सर अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने स्ट्राइकर्स चौथौं स्थानमा छ।

होबार्ट स्थित बेलीरिभ ओभल मैदानमा १७८ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको स्ट्राइकर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १३९ रन बनाउन सक्यो। स्ट्राइकर्सको लागि जोनाथन वेल्सले सर्वाधिक ३६,  फिल साल्टले २८ तथा ज्याक वेथरल्याण्डले २७ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

शानदार सुरुवात गरेको स्ट्राइकर्सले ५ ओभरमा १ विकेट गुमाएर ५४ रन बनाएको थियो। ओपनरद्वय फिल साल्टले १६ बलमा २८ (५ चौका र १ छक्का) तथा ज्याक वेथरल्याण्डले १५ बलमा २७ (४ चौका र १ छक्का) रन बनाए। १ नम्बरमा ब्याटिंग गर्न आएका म्याट रेंश ६ तथा कप्तान एलेक्स क्यारी ९ रन बनाएर आउट हुँदा स्ट्राइकर्स दबाबमा पर्यो। एक किनारबाट विकेट गएता पनि अर्को किनार सम्हालेका जोनाथन वेल्सले ३8 बलमा अविजित 36 रन बनाए। उनलाई अन्य ब्याट्सम्यानले साथ दिन सकेनन्। राशिद खानले ११ तथा लियाम स्कोटले १० रन बनाउँदै जितको अन्तर कम गराए।

सिक्सरको बलिंगतर्फ स्टिभ ओ’ किफ (२-०-८-२), कार्लोस ब्राथवेट (४-०-२३-२) र बेन्जामिन मानेन्तिले (४-०-२३-२ ) समान २ तथा डानियल क्रिस्टियनले १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको सिक्सरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७७ रन बनाउँदै स्ट्राइकर्सलाई १७८ रनको चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो। उसका लागि ड्यानियल क्रिस्टियनले सर्वाधिक ५० तथा ड्यानियल ह्युजले ४६ रन बनाए।

 क्रिस्टियनको कीर्तिमानी अर्धशतक 

क्रिस्टियनले १६ बलमा ५० रन बनाए

५ नम्बरमा ब्याटिंग गर्न आएका ड्यानियल क्रिस्टियनले १६ बलमा ५० रनको विस्फोटक पारि खेल्दै खेलको पाटो परिवर्तन गराए। १५ बलमा आफ्नो अर्धशतक पुरा गरेका उनि बिग ब्यास लिग इतिहासमै छिटो अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका छन्।

१२ औं ओभरमा ५८ रनको योगफलमै सिक्सरले ३ विकेट गुमाएको थियो जसपछि उनि ब्याटिंग गर्न आएका थिए। सुरुवातबाटै बलरमाथि हावी भएका उनले लियाम स्कोटले गरेको १३ औं ओभरमा ३ छक्का र १ चौका प्रहार गर्दै २२ रन बटुले। उनले १४ औं ओभरमा लेग स्पिनर राशिद खानको बलिंगमा २ छक्का हिर्काए भने एगारले गरेको १५ औं ओभरको पहिलो ३ बलमा लगातार चौका प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरे।  लिग इतिहासमै दोस्रो छिटो अर्धशतक बनाए लगत्तै उनि एगारको बलिंगमा वेल्सबाट समातिए। यो उनको बिग ब्यास इतिहासकै सातौँ अर्धशतक हो। यसअघि उनले २१ बलमा बिग ब्यास लिगमा व्यक्तिगत छिटो अर्धशतक बनाएका थिए।

लिग इतिहासकै छिटो अर्धशतकको कीर्तिमान क्रिस गेलको नाममा रहेको छ। उनले २०१६ मा मेलबर्न रेनिगेड्सको प्रतिनिधित्व गर्ने क्रममा एडीलेड्सविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए।

सुस्त सुरुवात गरेको सिक्सरले ओपनरद्वय जोश फिलिपेलाई ६ तथा ज्याक एडवार्ड्सलाई १७ रनमा गुमायो। दुवै ब्याट्सम्यान ड्यानियल वोरलको बलिंगमा विकेटकिपर एलेक्स क्यारीबाट समातिए। सिक्सरले पवारप्लेमा १ विकेट गुमाएर मात्र २९ रन जोडेको थियो। तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका जेम्स भिन्स १२ औं ओभरमा १९ रन बनाएर राशिद खानबाट बोल्ड भए। सुस्त सुरुवात बाबजुद चौथौं विकेटको लागि कप्तान ह्युजले क्रिस्टियनसंग ५८ रनको विस्फोटक साझेदारी गर्दै सिक्सरको इनिंग उकासे। क्रिस्टियनले १६ बलमा ५० रन बनाए जुनक्रममा ४ चौका र ५ छक्का हिर्काए। उनलाई १५ औं ओभरमा एस्टोन एगारले पेभेलियन फर्काए।

एक किनारबाट विकेट गएता पनि अर्को किनार सम्हालेका कप्तान ह्युजले ४१ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित ४६ रन बनाए। यस्तै, अन्तिममा जोर्डन सिल्कले ९ बलमा १५ तथा जाशोन होल्डरले ५ बलमा ११ रन बनाउँदै सिक्सरलाई चुनौतिपूर्ण योगफलतर्फ डोर्याए।

स्ट्राइकर्सको बलिंगतर्फ ड्यानियल वोरल (४-०-१२-२) र एस्टोन एगारले (४-०-४७-२) समान २ विकेट लिए भने राशिद खानले १ विकेट हात पारे।

३ खेलमा २ जित र १ हारपछि ८ अंक बटुल्दै सिड्नी सिक्सर अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। ३ खेलमा ५ अंक बटुलेको स्दिलेद स्ट्राइकर्स चौथौं स्थानमा छ। ४ खेलमा ११ अंक बटुलेको होबार्ट हरिकेन्स अंकतालिकाको शिर्ष स्थानमा छ।

२०७७ पुष ५, आईतवार मा प्रकाशित