खेल सङ्घहरुको वर्गीकरण हुन्छ : मन्त्री विश्वकर्मा

काठमाडौँ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल सङ्घहरुको वर्गीकरण गरिने बताएका छन् ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आयोजनामा सोमबार भएको राष्ट्रिय सङ्घहरुको अन्तरक्रियामा मन्त्री विश्वकर्माले नयाँ खेलकूद ऐनले खेल वर्गीकरणको व्यवस्था गरेको भन्दै नेपाली खेलकूदको विकासका लागि आवश्यकताअनुसार खेल सङ्घहरु वर्गीकरण गरिने बताएका हुन् ।

कार्यक्रममा युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नयाँ ऐनका बारेका जानकारी गराएका थिए । राखेपका उपाध्यक्ष शिव कोइरालाले एउटै व्यक्ति एकभन्दा बढी सङ्घमा रहेको पाइएकाले अब सो प्रथाको अन्त्य हुने बताए ।

सङ्घ विवाद समाधान समितिका संयोजकसमेत रहेका कोइरालाले कतिपय सङ्घको क्रियाकलापका कारण खेलकूद क्षेत्र बदनाम हुँदै गएको उल्लेख गरे । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले कोरोना महामारीका कारण ठप्प खेलकूद गतिविधि विस्तारै सामान्य अवस्थामा आउँदै गरेको बताए ।

सरकारले घोषणा गरेको स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी परिषद्ले पुस महिनाभर सातवटै प्रदेशमा कार्यक्रम आयोजना गर्ने योजना रहेको उनको भनाइ थियोे । कार्यक्रममा झण्डै ८० सङ्घका प्रतिनिधिको सहभागिता रहेको थियो ।

२०७७ पुष ७, मंगलवार मा प्रकाशित