दशककै उत्कृस्ट एसोसिएट खेलाडी अवार्ड कोट्जरलाई, जितेनन् पारसले

स्कटल्याण्डका खेलाडी कायल कोट्जरले आईसीसीको दशककै उत्कृस्ट एसोसिएट खेलाडीको अवार्ड जितेका छन्।

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, स्कटल्याण्डका कलम म्याकलोएड र रिची बेरिंगटन, पपुवा न्यु गिनीका असद भाला तथा नेदरल्याण्डका पिटर बोरेन यो विधामा मनोनयनमा परेका थिए।

४५.५४ को औशतले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २,२७७ रन बनाएका कोट्जर दशकको उत्कृस्ट खेलाडी भएको घोषणा आईसीसीले गरेको हो। ३६ वर्षीय कोट्जरले स्कटल्याण्डको लागि ५९ एकदिवसीयमा ४३.८० को औशतले ४ शतक र १७ अर्धशतक प्रहार गर्दै २,४०९ रन बनाएका छन्। यस्तै ५८ टि-२० अन्तर्राष्ट्रियमा उनले २५.६६ को औशतले ६ अर्धशतक प्रहार गर्दै १,३८६ रन बनाएका छन्।

२०१८ एभरेस्ट प्रिमियर लिगमा कोट्जरले नेपाली घरेलु टि-२० लिग ईपिएल टि-२० मा पोखरा राइनोजको कप्तानी गरेका थिए

कोट्जरले २००८ मा स्कटल्याण्डको लागि इंग्ल्यान्ड बिरुद्ध डेब्यु गरेका थिए भने सोहि बर्ष आयरल्याण्ड बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। उनले २०१५ एकदिवसीय विश्वकपमा बंगलादेश बिरुद्ध प्रहार गरेको १५६ रन एसोसीएट राष्ट्रको ब्याट्सम्यानले प्रहार गरेको सबै भन्दा उच्च रन हो।

नेपालको घरेलु टि-२० प्रतियोगिता एभरेस्ट प्रिमियर लिगको २०१८ को संस्करणमा कोट्जरले पोखरा राइनोजको कप्तानी समेत गरेका थिए। लिगमा कोट्जरले ५ खेलमा १३० रन बनाउदै सर्वाधिक रनकर्ताको सूचीमा ११ औं स्थानमा थिए।


आईसीसीले घोषणा गरेको एसोसीएट राष्ट्रको उत्कृस्ट महिला खेलाडीको अवार्ड स्कटल्याण्डकै काथ्रिन ब्रिसले जितेकी छिन्।

यस्तै आईसीसीले दशकको एकदिवसीय अन्तर्राष्ट्रिय टिम पनि घोषणा गरेको छ। उक्त टिममा भारतका रोहित शर्मा, बिराट कोहली र महेन्द्र सिंह धोनी, अस्ट्रेलियाका डेभिड वार्नर, मिचेल स्टार्क, दक्षिण अफ्रीकाका ए बि डी भिल्लीयर्स र इमरान ताहिर, बंगलादेशका शाकिब अल हसन, इंग्ल्यान्डका बेन स्टोकस, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट तथा श्रीलंकाका लासिथ मालिंगा रहेका छन्।

आईसीसीको दशकको टि-२० अन्तर्राष्ट्रिय टिममा पनि भारतका रोहित शर्मा, बिराट कोहली र महेन्द्र सिंह धोनी तथा जस्प्रित बुम्राह पनि रहेका छन्। यस्तै अस्ट्रेलियाका आरोन फिन्च र ग्लेन म्याक्सवेल,, दक्षिण अफ्रीकाका ए बि डी भिल्लीयर्स, वेस्टइन्डिजका क्रिस गेल र काइरन पोलार्ड, अफगानिस्तानका राशिद खान र श्रीलंकाका लासिथ मलिंगा रहेका छन्।

यो पनि पढ्नुस :-

आईसीसी दशकको टिममा छाए कोहली, कुन फर्म्याटमा को-को छन्

रहानेको शतकले सम्हालियो भारत, ८२ रनको अग्रता

टि-१० लिग : कुन टिममा को-को खेलाडीहरु छन् ( सम्पूर्ण जानकारी )

२०७७ पुष १२, आईतवार मा प्रकाशित