बिग ब्यास : ब्रिसबेन हिटद्वारा होबार्ट हरिकेन्स ४ विकेटले पराजित

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार सम्पन्न १६ औं खेलमा जिमी पिएरसन कप्तानीको ब्रिसबेन हिटले पिटर ह्यान्ड्सकम्ब कप्तानीको होबार्ट हरिकेन्सलाई ४ विकेटले पराजित गरेको छ। प्रतियोगितामा पहिलो जित दर्ता गरेको ब्रिसबेन हिट ४ खेलमा ५ अंकसहित अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ भने ५ खेलमा ३ जित र २ हारपछि ११ अंक बटुल्दै होबार्ट हरिकेन्स अंकतालिकाको तेस्रो स्थानमा छ।

ब्रिसबेन क्रिकेट मैदानमा टस हारेर ब्याटिंगको निम्तो पाएको होबार्टले निर्धारित २० ओभरमा ७ विकेट गुमाएँर १४८ रन बनाउँदै हिटलाई १४९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा हिटले १७.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो।

हिटको ब्याटिंग 

ओपनरद्वय म्याक्स ब्रायन्ट र साम हिज्लेटले पहिलो विकेटको लागि ७३ रनको अर्धशतकीय साझेदारी गर्दै हिटलाई सानदार सुरुवात दिलाए। हिटले ६ ओभरमा १ विकेट गुमाएर ७३ रन जोडेको थियो। १९ बलमा ३ चौका र १ छक्काको मद्धतमा ३१ रन बनाएका ब्रायन्टलाई  छैटौं ओभरमा न्याथन एल्लिसले आउट पारे। लगत्तै सातौँ ओभरमा ड्यान लरेन्सलाई डार्सी सर्टले खाता नखोली पेभेलियन फर्काए। यस्तै, २७ बलमा १ चौका र ५ छक्काको मद्धतमा ४८ रन बनाएका हिज्लेटलाई नवौं ओभरमा र टम कुपरलाई व्यक्तिगत ७ रनमा ११ औं ओभरमा सर्टले आउट पार्दै होबार्टलाई खेलमा फर्काएका थिए। १२ औं ओभरमा राइल मेरेडिथले ज्याक विल्डरमुथलाई ८ रनमा तथा लुइस ग्रेगोरीलाई १ रनमा पेभेलियन फर्काए।

११.५ ओभरमा १०२ रनको योगफलमै सुरुवाती ६ विकेट गुमाएको हिटलाई कप्तान पिएरसन र जेम्स बाज्लेले सातौँ विकेटको लागि ५० रनको अविजित साझेदारी गर्दै जितसम्म डोर्याए। बाज्लेले १९ बलमा २ चौका र ३ छक्काको मद्धतमा ३१ रनको विस्फोटक पारि खेले। उनलाई कप्तान पिएरसनले १५ बलमा १६ रन बनाएर साथ दिए।

होबार्टको बलिंगतर्फ डार्सी सर्टले (४-०-१८-३) सर्वाधिक ३ तथा राइल मेरेडिथले (४-० -२४-२) २ विकेट लिए। यस्तै, नाथन एल्लिसले १ विकेट हात पारे।

होबार्टको ब्याटिंग 

यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको होबार्टले १४९ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो। उसका लागि डार्सी सर्टले सर्वाधिक २७, जेम्स फल्कनरले अविजित २६ तथा टिम डेभिडले २१ रन बनाए।

पहिलो विकेटको लागि सर्टसँग २३ रनको साझेदारी गरेर बेन म्याकडरमोट चौथौं ओभरमा ज्याक विल्डरमुथको बलिंगमा मार्क स्टेकेटबाट समातिए। त्यसपछि सर्टले डेबिड मलानसँग दोस्रो विकेटको लागि ३१ रनको साझेदारी गर्दै होबार्टको इनिंग सम्हाले। २० बलमा २७ रन बनाएका सर्टलाई  ग्रेगोरिले आठौँ ओभरमा आउट पारे। १० औं ओभरमा ग्रेगोरिले डेबिड मलानलाई १५ तथा कप्तान पिटर ह्यान्ड्सकम्बलाई ७ रनमा पेभेलियन फर्काउँदै हिटलाई खेलमा हावी पारे। अन्तिममा जेम्स फ्ल्कनरले विल पार्करसँग आठौँ विकेटको लागि ३५ रनको अविजित साझेदारी गर्दै होबार्टलाई मध्यम लक्ष्यतर्फ डोर्याए।


हिटको बलिंगतर्फ लुइस ग्रेगोरिले (४-०-२२-३) सर्वाधिक ३ तथा मार्क स्टेकेटले (४-०-३६-२) ले २ विकेट लिए। यस्तै, मुजिब उर रहमान र ज्याक विल्डरमुथले समान १ विकेट हात पारे

जारि सिजन नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले होबार्टको प्रतिनिधित्व गर्दैछन्। मङ्सिर ३० गते अष्ट्रेलिया प्रस्थान गरेका सन्दिप १४ दिने क्वारेन्टाइनमा बस्नु पर्ने उनको व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभएको थियो। क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले शुरुआती छ खेल गुमाउनेछन् । हाल सन्दिप अस्ट्रेलियामा क्वारेन्टाइनमा छन्।

यो पनि पढ्नुस :-  

पारससंगै ब्याटिंग गर्ने सन्दिपको चाहना

बिग ब्यास खेल्न सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

सन्दिपले होबार्टबाट बिग ब्यास खेल्ने, कति पाउनेछन् मूल्य, कहिले छ खेल

२०७७ पुष १२, आईतवार मा प्रकाशित