रुबिनाको अर्धशतकमा प्रदेश-१ द्वारा बागमतीलाई मध्यम लक्ष्य

प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिता अन्तर्गत चौथो दिनको दोश्रो खेलमा समुह ‘बि’ अन्तर्गत प्रदेश-१ र बागमती प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग गरेको प्रदेश-१ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनाउदै बागमती प्रदेशलाई १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड 

प्रदेश-१ को लागि कप्तान तथा ओपनर रुबिना क्षेत्रीले अर्धशतक बनाउने क्रममा सर्वाधिक ५५ रन प्रहार गरिन्। उनले ५५ बलमा ६ चौका हिर्काइन्। त्यस बाहेक अप्सरी बेगमले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। अप्सरीले प्रतियोगिताकै पहिलो छक्का समेत प्रहार गरिन् जुन क्रममा लेग स्पिनर आरति बिडारीलाई लंगअनमा छक्का हिर्काईन्।

पहिलो ओभरमा काजल श्रेष्ठलाई खाता नखोली क्रिस्मा गुरुङले क्याच आउट गराएपछि रुबिनाले दोश्रो विकेटको लागि रोमा थापासंग  ४५ रनको साझेदारी गरेकी थिईन्। यस्तै तेश्रो विकेटको लागि रुबिनाले लतिका राजबंशीसंग ३६ रन जोडिन्।

१६ औं ओभरमा रुबिनालाई आरति बिडारीले क्याच आउट गरेपछि भने प्रदेश-१ ले लगातार विकेट गुमाउन पुग्यो। सोहि ओभरमा आरतिले लतिकालाई समेत पेभेलिन फर्काइन्। ८५/५ को अवस्थाबाट अप्सरी बेगमले न्गिमा तामांगसंग अविजित २१ रनको साझेदारी गरिन्।

दिनको पहिलो खेलमा समुह ‘बि’ अन्तर्गत सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ६० रनले पराजित गर्यो।

प्रतियोगिता अन्तर्गत समुह ‘ए’ को विजेताको रुपमा एपीएफ तथा उपविजेताको रुपमा लुम्बिनी प्रदेश सेमीफाइनल प्रवेश गरिसकेका छन्।

२०७७ पुष १४, मंगलवार मा प्रकाशित