बिग ब्यास : रेनिगेड्सको लगातार सातौँ हार

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत मंगलबार सम्पन्न २९ औं खेलमा एरोन फिंच कप्तानीको मेलबर्न रेनिगेड्सले लगातार सातौँ हार बेहोर्ने क्रममा एलेक्स क्यारी कप्तानीको एडिलेड स्ट्राइकर्ससँग ६० रनले पराजित भएको छ।जितसँगै ८ खेलमा समान ४ जित र ४ हारपछि १७ अंक बटुल्दै एडिलेड अंकतालिकाको चौथौं स्थानमा उक्लिएको छ भने ८ खेलमा मात्र १ जित निकालेको रेनिगेड्स अंकतालिकाको पुछारमा छ।

एडिलेड स्थित एडिलेड ओभल मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंगको निर्णय लिएको एडिलेडले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाउँदै रेनिगेड्सलाई १७२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा रेनिगेड्स १९.१ ओभरमा मात्र १११ रनमै समेटियो।

रेनिगेड्सको ब्याटिंग   

रेनिगेड्सको ब्याटिंगमा म्याकेन्जी हार्वेले सर्वाधिक ३४, साम हार्परले ३१, ज्याक फ्र्यासर-म्याक्गर्कले अविजित ११ तथा बिउ वेब्स्टरले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

खराब सुरुवात गरेको रेनिगेड्सले इनिंगको पहिलो बलमै कप्तान एरोन फिंचलाई गुमायो जसलाई ह्यारी कनवेले विकेटकिपर एलेक्स क्यारीबाट आउट गराए। त्यसपछि ज्याक फ्र्यासर-म्याक्गर्क र साम हार्परले दोस्रो वेकेटको लागि ६७ रनको अर्धशतकीय साझेदारी गर्दै रेनिगेड्सको इनिंग सम्हाले जसपछि निरन्तर रुपमा विकेट गुमाएको रेनिगेड्सले लज्जासपद हार बेहोर्नु पर्यो। ज्याकले २९ बलमा ३४ रन बनाए जुनक्रममा समान २ चौका र २ छक्का हिर्काए भने हार्परले ३० बलमा २ चौका र १ छक्काको मद्धतमा ३१ रन बनाए।  १९ रनको अन्तरमा ५ विकेट गुमाउँदा रेनिगेड्सको ब्याटिंग धराशायी हुन पुग्यो। १९ औं ओभरको पहिलो बलमा पिटर सिडलले नुर अहमदलाई बोल्ड गर्दै रेनिगेड्सलाई अल आउट पारेका थिए।

रेनिगेड्सलाई सस्तोमा समेट्ने क्रममा स्ट्राइकर्सको बलिंगतर्फ पिटर सिडल र वेस्ले एगारले समान ३ विकेट लिए। यस्तै, ड्यानी ब्रिग्सले २ तथा राशिद खान र ह्यारी कनवेले समान १ विकेट हात पारे।

स्ट्राइकर्सको ब्याटिंग  

यसअघि टस जितेर ब्याटिंग रोजेको एडिलेडले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो। उसको लागि ज्याक वेदरल्याण्डले २५ बलमा सर्वाधिक ५१ रन बनाए जुनक्रममा ५ चौका र ४ छक्का हिर्काए।

वेदरल्याण्डले २५ बलमा सर्वाधिक ५१ रन बनाए

सुस्त सुरुवात गरेको एडिलेडले १४ रनको योगफलमा ओपनरद्वय फिल शाल्टलाई ८ रनको व्यक्तिगत स्कोरमा गुमायो जसपछि म्याट रेंशले कप्तान एलेक्स क्यारीसँग दोस्रो विकेटको लागि ५४ रनको अर्धशतकीय साझेदारी गर्दै एडिलेडको इनिंग सम्हाले। रेंशले ३५ तथा कप्तान क्यारीले २४ रनको योगदान दिए। पाचौं विकेटको लागि ज्याक वेदरल्याण्ड र रायन गिब्सनले ९६ रनको आक्रामक साझेदारी गर्दै एडिलेडलाई विशाल योगफलतर्फ डोर्याए। वेदरल्याण्डले ५१ तथा गिब्सले अविजित ४३ रन बनाए। ३१ बलको सामना गरेका गिब्सले ४ चौका र १ छक्का प्रहार गरे।

रेनिगेड्सको बलिंगतर्फ इमाद वासिम र केन रिचार्डसनले समान २ विकेट लिए भने मोहम्मद नाबीले १ विकेट हात पारे।

खेलको प्लेयर अफ द म्याच गिब्सन चुनिए।

लिग अन्तर्गत भोलि पर्थ स्कोर्चर्स र सिड्नी सिक्सरबीच प्रतिस्पर्धा हुदैंछ। उक्त खेल नेपाली समय अनुसार दिउँसोको २ बजे पर्थ स्टेडियममा सुरु हुनेछ।

कहिले छ सन्दिप सम्मिलित होबार्टको खेल 

नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले बिहिबार (जनवरी ७) सिड्नी थन्दरको सामना गर्दैछ जुन खेल नेपाली समय अनुसार दिउँसोको १२:५५ बजे पर्थ स्थित पर्थ स्टेडियममा सुरु हुनेछ।

यसअघि सन्दिपले जारि सिजन २ खेल खेलिसकेका छन्। होबार्टको लागि डेब्यु गर्ने क्रममा शनिबार आफ्नो पुर्व टोलि मेलबर्न स्टार्सविरुद्ध सन्दिपले ४ ओभरमा ३८ रन खर्चिएर हिल्टन कार्टराइट र बेन डंकको विकेट लिएका थिए। स्टार्सविरुद्धनै सोमबार समपन्न खेलमा सन्दिपले ३६ रन खर्चिएर ग्लेन म्याक्स्वेलको १ मात्र विकेट लिएका थिए।

२०७७ पुष २१, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment