बिग ब्यास : मिचेल मार्शको अल-राउण्ड प्रदशनमा पर्थ विजयी

अस्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत  बुधबार सम्पन्न ३० औं खेलमा एश्टोन टर्नर कप्तानीको पर्थ स्कोर्चर्सले डानियल ह्युज कप्तानीको सिड्नी सिक्सरलाई ८६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

जितसँगै ७ खेलमा समान ३ जित र ३ हारपछि १३ अंक बटुलेको पर्थ अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ भने ८ खेलमा ५ जित र ३ हारसहित २१ अंक जोडेको सिक्सर अंकतालिकाको शिर्ष स्थानमा यथावत रहेको छ।

पर्थ स्थित अप्टुस स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको पर्थले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८३ रन बनाउँदै सिक्सरलाई १८४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा सिक्सर १६.४ ओभरमा ९७ रनमै समेटियो।

सिक्सरको ब्याटिंग  

सिक्सरको ब्याटिंगमा ज्याक एडवाड्सले सर्वाधिक ४४, स्टिभ ओ’ किफले १६, कप्तान ड्यानियल ह्युजले १४ तथा ज्याक्सन बर्डले १२ रनको योगदान दिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अत्यन्तै खराब सुरुवात गरेको सिक्सरले ४४ रनको योगफलमै ३ विकेट गुमाउन पुग्यो। त्यसपछि एक किनारबाट निरन्तर रुपमा विकेट गुमाएता पनि अर्को किनार सम्हालेका एडवाड्सले भने ३८ बलमा ४ चौकाको मद्धतमा ४४ रन बनाए। उनलाई १३ औं ओभरमा फवाद अहमदले जेशन रोयबाट आउट गराए। १७ औं ओभरमा एन्ड्रयु टायले लोयड पोपलाई कट एण्ड बोल्ड आउट पार्दै सिक्सरलाई अल आउट पारेका थिए।

सिक्सरलाई सस्तोमा समेट्न पर्थको बलिंगतर्फ एन्ड्रयु टायले (३.४- ०-२० -४) ले सर्वाधिक ४ विकेट लिए। यस्तै, जाय रिचार्डसनले ३ तथा जेशन बेहेन्ड्रोफ, फवाद अहमद र मिचेल मार्शले समान १ विकेट हात पारे।

पर्थको ब्याटिंग 

यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको पर्थले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८३ रन बनाउँदै सिक्सरलाई १८४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। उसको लागि मिचेल मार्शले अविजित ५७ तथा कलिन मन्रोले ५० रनको योगदान दिए।

लियाम लिभिंग्स्टोन १३ बलमा २ चौका र १ छक्काको मद्धतमा १६ रन बनाएर आउट भएपछि जेशन रोय र कलिन मन्रोले दोस्रो विकेटको लागि ६५ रनको अर्धशतकीय साझेदारी गर्दै पर्थको इनिंग सम्हाले। मन्रोले ३४ बलमा ४ चौका र २ छक्काको मद्धतमा ५० तथा रोयले २७ रन बनाए।  त्यसपछि जोश इंग्लिस र मिचेल मार्शले ५७ रनको विस्फोटक साझेदारी गर्दै पर्थलाई विशाल योगफलतर्फ उन्मुख पारे। इंग्लिस १२ बलमा २० रन बनाएर १८ औं ओभरमा स्टिभ ओ’ किफको बलिंगमा जोर्डान सिल्कबाट समातिए। मार्शले भने अन्तिमसम्म अविजित रहेर २७ बलमा ५७ रनको अर्धशतकीय पारि खेले जुनक्रममा ७ चौका र २ छक्का प्रहार गरे।

सिक्सरको बलिंगतर्फ स्टिभ ओ’ किफ (४-०-३३-२) र लोयड पोपले (२-०-१३-२) समान २ विकेट लिए।

कहिले छ सन्दिप सम्मिलित होबार्टको खेल

नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित होबार्ट हरिकेन्सले भोलि (जनवरी ७) सिड्नी थन्दरको सामना गर्दैछ जुन खेल नेपाली समय अनुसार दिउँसोको १२:५५ बजे पर्थ स्थित पर्थ स्टेडियममा सुरु हुनेछ।

यसअघि सन्दिपले जारि सिजन २ खेल खेलिसकेका छन्। होबार्टको लागि डेब्यु गर्ने क्रममा शनिबार आफ्नो पुर्व टोलि मेलबर्न स्टार्सविरुद्ध सन्दिपले ४ ओभरमा ३८ रन खर्चिएर हिल्टन कार्टराइट र बेन डंकको विकेट लिएका थिए। स्टार्सविरुद्धनै सोमबार समपन्न खेलमा सन्दिपले ३६ रन खर्चिएर ग्लेन म्याक्स्वेलको १ मात्र विकेट लिएका थिए।

२०७७ पुष २२, बुधबार मा प्रकाशित