बिग ब्यास : होबार्टलाई हराउँदै सिड्नी शिर्षमा

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत बिहिबार सम्पन्न ३१ औं खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित होबार्ट हरिकेन्स कलम फर्गुसन कप्तानीको सिड्नी थन्डरसँग ३९ रनको फराकिलो अन्तरले पराजित भएको छ।

जितसँगै ८ खेलमा ६ जित र २ हारपछि २२ अंक बटुल्दै थन्डर अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ भने ९ खेलमा ५ जित र ४ हारसहित १९ अंक जोडेको होबार्ट अंकतालिकाको तेस्रो स्थानमा यथावत रहेको छ।

 
पर्थ स्थित ओप्टुस स्टेडियममा थन्डरले दिएको १६८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा होबार्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १२८ रन बनाउँन सक्यो।

होबार्टको ब्याटिंग 

होबार्टको ब्याटिंगमा कप्तान पिटर ह्यान्ड्सकम्बले सर्वाधिक ३०, म्याक्डरमोटले २२, डेविड मलानले २० तथा डार्सी सर्टले १९ रन बनाए।

बेन म्याक्डरमोट र डार्सी सर्टले पहिलो विकेटको लागि ३६ रनको साझेदारी गर्दै सिड्नीलाई आक्रामक सुरुवात दिलाएका थिए। त्यसपछि न्याथन म्याकएन्ड्रयुले म्याक्डरमोट (२२) र सर्टलाई (१९) आउट पार्दै सिड्नीलाई खेलमा फर्काए। तेस्रो विकेटको लागि डेविड मलान र कप्तान पिटरले ४८ रनको साझेदारी गर्दै होबार्टको इनिंग सम्हाले। मलान २० रन बनाएर ग्रिनबाट बोल्ड भए। पिटरलाई भने तनवीर सांगाले स्टम्प आउट गराए।अन्तिममा निरन्तर रुपमा विकेट गुमाएको होबार्टले २६ रनको अन्तरालमा ६ विकेट गुमाउँन पुगेको थियो।

होबार्टलाई झिनो योगफलमा रोक्न थन्डरको बलिंगमा न्याथन म्याकएन्ड्रयु, क्रिस ग्रिन र तनवीर सांगाले समान २ विकेट लिए। यस्तै, अर्जुन नायर र एडाम मिल्नेले समान १ विकेट हात पारे।

थन्डरको ब्याटिंग 

यसअघि ब्याट फिलिप हारेर पहिले ब्याटिंगको निम्तो पाएको थन्डरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रन बनाएको थियो। उसको लागि उस्मान खवाजाले ३३ बलमा सर्वाधिक ४९ रन बनाए जुनक्रममा ६ चौका हिर्काए। अविजित रहेका बेन कटिंग र एलेक्स रोजले क्रमशः ३१ र ४४ रनको योगदान दिए।

ओपनरद्वय उस्मान खवाजा र एलेक्स हेल्सले पहिलो विकेटको लागि ५९ रनको आक्रामक साझेदारी गरे। १९ बलमा ४ चौकाको मद्धतमा २१ रन बनाएका हेल्सलाई डार्सी सर्टले न्याथन एल्लिसबाट आउट गराए। त्यसपछि थन्डरले १७ रनको अन्तरालमा ३ विकेट गुमाउँन पुग्यो। अन्तिममा १४.५ ओभरमा ११०/५ को स्थितिबाट बेन कटिंग र एलेक्स रोजले छैटौं विकेटको लागि ५७ रनको अविजित साझेदारी गर्दै थन्डरलाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याएका थिए।

होबार्टको बलिंगतर्फ डार्सी सर्टले (४-०-२६-३) ३ तथा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले (४-०-२३-१) १ विकेट लिए।                                                                                                         

समग्रमा यस्तो रह्यो सन्दिपको बलिंग प्रदर्शन 

नेपाली लेग स्पिनर सन्दिप लामिछानेले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए। उनले थन्डरका कप्तान फर्गुसनलाई पेभेलियन फर्काएका थिए।

पहिलो ओभर : ३ रन ( ० , १ , ० , ०  , १ , १ )

छैठौं ओभरमा स्पेल सुरुवात गरेका सन्दिपको दोश्रो बलमा उस्मान ख्वाजाले चौका हिर्काए। त्यसबाहेक ओभरमा ओभरमा ३ बल डट गर्दै कुल ६ रन मात्र खर्चिए।

दोश्रो ओभर : ८ रन खर्चेर १ विकेट ( १ , १ , ० , विकेट , २ रन , ० )                                                                                     

स्पेल निरन्तरता दिने क्रममा सन्दिपले राम्रो लयमा रहेका सिड्नीका कप्तान कलम फर्गुसनको विकेट लिए। चौथो बलमा सन्दिपले गरेको लेग स्पिनलाई लंगअन माथि हिर्काउन खोजेका फर्गुसन बाउन्ड्रीमा बोथाबाट क्याच आउट भए।

तेश्रो ओभर : ६ रन ( १ , २ , ० , ० , १ , २ )

१२ औं ओभरमा स्पेलको तेश्रो ओभर गर्ने क्रममा सन्दिपले ६ रन खर्चिए। भर्खरै क्रिजमा आएका अर्जुन नयर र एलेक्स रोसले सन्दिपलाई खुलेर खेल्न सकेनन्।

चौथो ओभर : ८ रन ( ० , २ , बाई १, १ , ० , ४ )

स्पेलको अन्तिम ओभर १४ औं ओभरमा सक्ने क्रममा नायर र रोसलाई दबाबमा राखेका सन्दिपले गुगलीको राम्रो प्रयोग गरे। तेश्रो बलमा स्टम्पिंगको मुस्किल मौकामा विकेटकिपर म्याकडरमोट चुक्न पुगे। ओभरको चौथो बलमा सन्दिपले माथि दिएको बललाई सन्दिपको टाउको माथिबाट नायरले चौका हिर्काए।

प्रतियोगिता अन्तर्गत सन्दिपले यस अघि मेलबर्न स्टार्स बिरुद्ध खेलेको दुईवटा खेलमा ३ विकेट लिएका थिए। यस क्रममा पहिलो खेलमा ३८ रन तथा दोश्रो खेलमा ३६ रन खर्चेका थिए।

सन्दिप सम्मिलित होबार्टको आगामी खेल 

होबार्टले आफ्नो नवौं तथा प्रतियोगिताको ३७ औं खेलमा डिसेम्बर १२ (मंगलबार) पर्थ स्थित ओप्टुस स्टेडियममा पर्थ स्कोर्चर्ससँग प्रतिस्पर्धा गर्नेछ।

२०७७ पुष २३, बिहीबार मा प्रकाशित