अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत शुक्रबार सम्पन्न ३३ औं खेलमा एरोन फिंच कप्तानीको मेलबर्न रेनिगेड्सले रोमान्चक खेलमा एलेक्स केरी कप्तानीको एडिलेड स्ट्राइकर्सलाई ६ विकेटले पराजित गरेको छ। योसंगै पछिल्लो ७ खेलमा हार बेहोरेको मेलबर्न रेनिगेड्सले आफ्नो पराजय यात्रालाई पूर्णविराम लगाएको छ।
जितसंगै ९ खेलमा २ जित र ७ हार बेहोरेको रेनिगेड्स ९ अंक बटुल्दै अंकतालिकाको पुछारमा यथावत रहेको छ भने ९ खेलमा ४ जित र ५ हारसहित स्ट्राइकर्स १७ अंक जोड्दै अंकतालिकाको चौथौं स्थानमा रहेको छ।
एडिलेड स्थित एडिलेड ओभल स्टेडियममा सम्पन्न खेलमा १७८ रनको लक्ष्य पछ्याएको रेनिगेड्सले १ बल बाँकी रहदा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
The @RenegadesBBL are FINALLY back on the winner's list 😃 #BBL10 pic.twitter.com/uwSEru8g60
— KFC Big Bash League (@BBL) January 8, 2021
रेनिगेड्सको लागि मोहम्मद नावीले ४१ बलमा अविजित ७१ रन बनाए जुनक्रममा ९ चौका र २ छक्का हिर्काए। अन्तिममा जेक फ्रेसर-मॅकगर्कले २१ बलमा २ छक्काको मद्धतमा अविजित २९ रन बनाउदै नावीलाई महत्वपूर्ण साथ दिए।
कप्तान एरोन फिंच र मॅकेन्झी हार्वेले पहिलो विकेटको लागि ३१ रनको साझेदारी गर्दै रेनिगेड्सलाई राम्रो सुरुवात दिलाए। कप्तान फिंच र हार्वेले समान १४ रन बनाए। ३ नम्बरमा ब्याटिंग गर्न आएका साम हार्परलाई १८ रनको व्यक्तिगत स्कोरमा राशिद खानले पेभेलियन फर्काए। त्यसपछि मोहम्मद नावीले जॅक प्रेस्टविजसँग ४२ रनको साझेदारी गर्दै रेनिगेड्सको इनिंग सम्हाले। प्रेस्टविजलाई १४ रनको व्यक्तिगत स्कोरमा राशिद खानले आफ्नो दोस्रो सिकार बनाउने क्रममा एल्बीडब्ल्यु आउट पारे। त्यसपछि मोहम्मद नावीले जेक फ्रेसर-मॅकगर्कसँग पाचौं विकेटको लागि ६८ रनको अविजित साझेदारी गर्दै रेनिगेड्सलाई रोमान्चक जित दिलाए।
स्ट्राइकर्स बलिंगतर्फ राशिद खानले (४-०-२४-२) सर्वाधिक २ विकेट लिए। यस्तै, वेश एगार र ड्यानी ब्रिग्सले समान १ विकेट हात पारे।
स्ट्राइकर्सको ब्याटिंग
यसअघि ब्याट फिलिप जितेर ब्याटिंगको निर्णय लिएको स्ट्राइकर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनाएको थियो। जारि सिजन स्ट्राइकर्सको यो सर्वाधिक योगफल हो। उसको लागि फिलिप शाल्टले ४२ बलमा सर्वाधिक ५९ रन बनाए जुनक्रममा समान ३ चौका र ३ छक्का हिर्काए। कप्तान एलेक्स केरीले ४२ तथा म्याट रेंशले ३० रनको योगदान दिए।

रेंश र शाल्टले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गर्दै स्ट्राइकर्सलाई आक्रामक सुरुवात दिलाए। जॅक प्रेस्टविजले आठौँ ओभरमा रेंशलाई आउट गरेपछि केरीले शाल्टसँग दोस्रो विकेटको लागि ७५ रनको साझेदारी गर्दै स्ट्राइकर्सको इनिंग अघि बढाए। समान ३ चौका र ३ छक्काको मद्धतमा २५ बलमा ४२ रनको विस्फोटक पारि खेलेका केरीलाई इमाद वासिमले आउट गराए। त्यसपछि पिटर हत्जोग्लूले शाल्ट (५९), ज्याक वेदरल्याण्ड (१९) र रायन गिब्सलाई (१) पेभेलियन फर्काए। अन्तिममा जोनाथन वेल्सले १३ बलमा १६ रन बनाउदै स्ट्राइकर्सलाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याए।
मेलबर्न रेनिगेड्सको बलिंगतर्फ पिटर हत्जोग्लूले (४-०-४३-३) सर्वाधिक ३ तथा जॅक प्रेस्टविजले (३-०-२०-२) २ विकेट लिए। यस्तै, इमाद वासिम र केन रिचार्डसनले समान १ विकेट हात पारे।