भारत टेस्ट जोगाउन सफल

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत तेश्रो टेस्ट बराबरीमा टुंगिएको छ। पहिलो टेस्टमा अस्ट्रेलिया तथा दोश्रोमा भारत विजयी भएको थियो भने तेश्रो टेस्ट बराबरी भएपछि सिरिज विजेताको निर्णय अब जनवरी १५ देखि ब्रिसबेनमा सुरु हुने टेस्टले गर्नेछ।

सिड्नी क्रिकेट मैदानमा सम्पन्न टेस्टमा अस्ट्रेलियाले भारतलाई  ४०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टेस्टको पाँचौ दिन भारतले पुरा दिन ब्याटिंग गर्दै ५ विकेट गुमाएर ३३४ रन बनाउदै टेस्ट बराबरीमा टुंग्याउन सफल भयो।

चौथो दिन रोहित शर्मा ( ५२ ) र शुबमन गिल ( ३१ ) को विकेट लिन सफल अस्ट्रेलिया पाँचौ दिन मात्र ३ विकेट लिन सक्यो। कप्तान अजिंके रहाने ४ रन बनाएर आउट भएता पनि त्यसपछि चेतेश्वर पुजाराले रिशभ पन्तसंग चौथो विकेटको लागि १४८ रनको साझेदारी गर्दै भारतलाई बराबरीतर्फ डोर्याएका थिए। ११८ बलमा १२ चौका र ३ छक्का मद्दतले ९७ रन बनाएका पन्तलाई नाथन लायनले क्याच आउट गराए। २०५ बलमा १२ चौका मद्दतले ७७ रन बनाएका पुजारालाई हेजलवुडले बोल्ड गर्दै अस्ट्रेलियालाई खेलमा फर्काए।

पुजारा र पन्तको विकेटपछि क्रिजमा आएका हनुमा विहारी र रभीचन्द्रन आश्विनले अस्ट्रेलियालाई विकेट दिएनन् र दिनको अन्तिमसम्म ब्याटिंग गरे। दुवैले ८९ औं ओभर देखि १३१ औ ओभरसम्म ब्याटिंग गरे। बिहारीले १६१ बलमा ४ चौका मद्दतले अविजित २३ तथा आश्विनले १२८ बलमा ७ चौका मद्दतले अविजित ३९ रन बनाए। दुवैले छैठौं विकेटको लागि २५९ बलमा ६२ रन जोडे।

अस्ट्रेलियाको बलिंगमा जोश हेजलवुड र नाथन लायनले समान २ विकेट तथा प्याट कमिन्सले १ विकेट लिए।

यस अघि टेस्टमा टस जितेर ब्याटिंग रोजेको अस्ट्रेलियाले पहिलो इनिंगमा ३३८ रन बनाएको थियो। भारतले पहिलो इनिंगमा २४४ रन बनाएको थियो। अस्ट्रेलियाले दोश्रो इनिंगमा ३१२/६ को अवस्थामा इनिंग्स समाप्तिको घोषणा गरेको थियो।

खेलको प्लेयर अफ द म्याच पहिलो इनिंगमा १३१ रन बनाएका स्टिभ स्मिथ चुनिए।

खेलमा बनेका रेकर्डहरु 

१३१ ओभर सन् १९८० पछि भारतले टेस्ट क्रिकेटमा ब्याटिंग गरेको सर्वाधिक ओभर हो।

चौथो इनिंगमा भारतले टेस्ट जोगाउन कुल १३१ ओभर ब्याटिंग गर्यो जुन भारतले इतिहासमै चौथो इनिंगमा खेल बराबरी गराउने क्रममा गरेको संयुक्त रुपमा अहिलेसम्मकै पाँचौ धेरै ओभर हो। सबै भन्दा धेरै १९७९ मा इंग्ल्यान्ड बिरुद्ध भारतले ओभलमा १५०.५ ओभर ब्याटिंग गरेको थियो।

अस्ट्रेलियामा कुनै पनि एसियाली टिमले चौथो इनिंगमा खेल बराबरी गर्न खेलेको यो इतिहासकै धेरै ओभर हो। यस अघि भारतलेनै दोश्रो धेरै सिड्निमा २०१४/१५ मा टेस्ट जोगाउन ८९.५ ओभर ब्याटिंग गरेको थियो।

३३४/५ , चौथो इनिंगमा कुनै पनि भ्रमण टोलिले चौथो इनिंगमा बनाएको दोश्रो ठुलो योगफल हो। यो भन्दा धेरै इंग्ल्यान्डले एडीलेडमा १९९१ मा ३३५/५ रन बनाएको थियो।

२०७७ पुष २७, सोमबार मा प्रकाशित