बिग ब्यास : सन्दिप पहिलो पटक विकेटविहिन, होबार्टलाई पर्थले उछिन्यो

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत ३७ औं खेलमा नेपाली स्पिनर सन्दिप लामिछाने आबद्ध होबार्ट हरिकेन्सलाई पर्थ स्करचर्सले सहजै ९ विकेटले पराजित गरेको छ।

जितसंगै पर्थ होबार्टलाई पराजित गर्दै लिग अंकतालिकाको तेश्रो स्थानमा उक्लेको छ। पर्थको ९ खेलमा २० अंक रहेको छ। हारपछि होबार्ट १९ अंक सहित पाँचौ स्थानमा पुगेको छ। एडीलेड २० अंक सहित चौथो स्थानमा रहेको छ।

पर्थ स्थित पर्थ स्टेडीयममा सम्पन्न खेलमा होबार्टले दिएको १४० रनको लक्ष्य पर्थले १६.२ ओभरमा मात्र १ विकेट गुमाएर १६.२ ओभरमा पुरा गर्यो। पर्थको जितमा ओपनर जेसन रोयले सर्वाधिक अविजित ७४ रन तथा लियाम लिभिंगस्टोनले ५४ रन बनाए। रोय र लिभिंगस्टोनले १२३ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरे।


यस अघि टस जितेर ब्याटिंग गरेको होबार्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३९ र बनाएको थियो।

होबार्टको लागि ओपनर ड्यार्सी सर्टले सर्वाधिक ५४ रन बनाए भने टिम डेभिडले अविजित ३१, कोलिन इन्ग्रामले १८, पिटर ह्यान्ड्सकम्बले १३ तथा मिचेल ओवेनले अविजित ११ रन बनाए। पर्थको बलिंगमा आरोन हार्डीले २ तथा झाई रिचर्डसन, जेसन बेह्रेनडर्फ र फवाद एहमदले समान १ विकेट लिए।

यस्तो रह्यो सन्दिप लामिछानेको प्रदर्शन 

खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने यो सिजन चौथो खेल खेल्ने क्रममा पहिलो पटक विकेटविहिन रहे। सन्दिपले ३ ओभर बलिंग गर्दा २३ रन खर्चिए।

पहिलो ओभर : ८ रन ( २ , ० , ० , ४ , १ , १ )

इनिंग्सको पाँचौ ओभरमा स्पेल सुरुवात गरेका सन्दिपले ओभरमा १ चौका खर्चिए। ओभरको चौथो बलमा जेसन रोयले उनलाई रिभर्स स्विप गर्दै चौका हिर्काए। ओभरको पहिलो बलमा पनि रोयले सन्दिपलाई रिभर्स स्विप प्रहार गरेका थिए जसमा उनले २ रन पाएका थिए। दोश्रो र तेश्रो बल डट गरेका उनले पाँचौ र छैठौ बलमा १/१ रन खर्चिए।

दोश्रो ओभर : ८ रन ( ४ , ० , १ , १ , १ , १ )

स्पेल निरन्तरता दिने क्रममा सातौँ ओभर बलिंग गर्ने क्रममा सन्दिपको पहिलो बलमा जेसन रोयले चौका हिर्काए। सर्ट बल गरेका सन्दिपलाई रोयले सहजै मिड-विकेटमा चौका हिर्काए। त्यसपछि भने बाँकी ५ मध्ये ४ बलमा रोय र लिभिंगस्टोनले १/१ रन लिए। दोश्रो ओभरमा पनि उनि विकेटको मौका सिर्जना गर्न असफल रहे।

तेश्रो ओभर : ७ रन ( १ , ४ , १ , १ , ० , ० )

लियाम लिभिंगस्टोन र जेसन रोय बीचको साझेदारी तोड्ने उद्देश्यका साथ ११ औं ओभरमा व्यक्तिगत तेश्रो ओभर बलिंग गरका सन्दिपले पुनः विकेटको मौका सिर्जना गर्न सकेनन्। ओभरको दोश्रो बलमा सन्दिपले गरेको सर्ट बललाई लिभिंगस्टोनले मीड-विकेटमा चौका हिर्काए। त्यसपछि राम्रो बलिंग गरेता पनि लिभिंगस्टोन र जेसन रोयले कुनै गल्ति गरेनन्।

लिग अन्तर्गत नेपाली स्पिनरले यस अघि खेलेको अघिल्लो ३ खेलमा ४ विकेट लिएका थिए। यस क्रममा उनले पहिलो खेलमा मेलबर्न स्टार्स बिरुद्ध २ विकेट तथा दोश्रो खेलमा स्टार्स र तेश्रो खेलमा सिड्नी थन्डर्स बिरुद्ध १/१ विकेट लिएका थिए।

लिग अन्तर्गत होबार्टले आगामी खेल जनवरी १८ तारिखमा सिड्नी थन्डर्स बिरुद्ध खेल्ने तालिका रहेको छ।

२०७७ पुष २८, मंगलवार मा प्रकाशित