बिग ब्यास सिड्नी डर्वी :वर्षाले प्रभावित खेलमा सिक्सरद्वारा थंडर पराजित

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत बुधबार सम्पन्न ३८ औं खेलमा (सिड्नी डर्वी) ड्यानियल ह्युज कप्तानीको सिड्नी सिक्सरले कलम फर्गुसन कप्तानीको सिड्नी थंडरलाई डीएलएस मेथडमा ५ विकेटले पराजित गरेको छ।

जितसंगै १० खेलमा ७ जित र ३ हारपछि २९ अंक बटुलेको सिक्सर अंकतालिकाको शिर्ष स्थानमा यथावत रहेको छ भने १० खेलमा ६ जित र ४ हारसहित २३ अंक जोडेको थंडर दोस्रो स्थानमा यथावत छ। हारसंगै थंडरले सिक्सरलाई उछिन्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लने अवसर गुमाएको छ।

क्यानवेरा स्थित मानुका ओभल मैदानमा सम्पन्न खेलमा ब्याट फिलिप हारेर ब्याटिंगको निम्तो पाएको थंडरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६६ रन बनाएको थियो। पहिलो इनिंगको समाप्तिपछि वर्षा बाधक बनेपछि सिक्सरले १४ ओभरमा १२९ रनको नयाँ विजयी लक्ष्य पाएको थियो जुन पछ्याउने क्रममा सिक्सरले १२.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

फिलिप्पेले ३६ बलमा सर्वाधिक ६४ रन बनाए

१४ ओभरमा छुट्याइएको सिक्सरको इनिंगमा ओपनरद्वय जोश फिलिप्पेले ३६ बलमा ७ चौका र २ छक्काको मद्धतमा सर्वाधिक ६४ रनको आक्रामक पारि खेले। जस्टिन अवेंदनोले १७, ड्यानियल क्रिस्टियनले १५ तथा जोर्डान सिल्कले १३ रनको योगदान दिए।

फिलिप्पे र अवेंदनोले पहिलो विकेटको लागि ५० रनको विस्फोटक साझेदारी गरे। त्यसपछि सिक्सरले लगातार रुपमा विकेट गुमाएता पनि फिलिप्पेले सर्वाधिक ६४ रन बनाउँदै सिक्सरलाई जितसम्म डोर्याए।

सिक्सरलाई अन्तिम ४ ओभरमा जितका लागि ३१ रनको आवश्यकता रहेको थियो। ११ औं ओभरको पहिलो बलमा ड्यानियल स्याम्सले सिल्कलाई १३ रनको व्यक्तिगत स्कोरमा आउट पारेता पनि सो ओभरमा क्रिस्टियनले १ चौकासहित १० रन बटुले। १२ औं ओभरमा फिलिप्पेले २ छक्का प्रहार गर्दै १६ रन बटुलेपछि सिक्सरलाई अन्तिम २ ओभरमा मात्र ६ रनको खाँचो रहेको थियो। क्रिस्टियनले १३ औं ओभरमा स्याम्सलाई चौका हिर्काउदै सिक्सरलाई जित दिलाएका थिए।

थंडरको बलिंगमा ड्यानियल स्याम्सले सर्वाधिक २ तथा न्याथन म्याकएन्ड्रयु, तन्विर साँगा र बेन कटिंगले समान १ विकेट लिए।

यसअघि ब्याट फिलिप हारेर पहिले ब्याटिंगको निम्तो पाएको थंडरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो। उसको लागि एलेक्स हेल्सले ३३ बलमा ५ चौका र ३ छक्काको मद्धतमा सर्वाधिक ५४ रन बनाए। ड्यानियल स्याम्सले ३७ बलमा ५० रनको अविजित पारि खेले जुनक्रममा ४ चौका र १ छक्का हिर्काए।

हेल्स र उस्मान खवाजाले पहिलो विकेटको लागि ४४ रनको साझेदारी गरे। त्यसपछि लगातारा रुपमा विकेट गुमाएता पनि हेल्सले ५४ रनको पारि खेल्दै थंडरको इनिंग सम्हाले। अन्तिममा ड्यानियल स्याम्सले नयाथन म्याकएन्ड्रयुसँग सातौँ विकेटको लागि ४४ रनको अविजित साझेदारी गर्दै थंडरलाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याएका थिए।

सिक्सरको बलिंगमा स्टिभ ओ’ किफले (४-०-१५-३) सर्वाधिक ३ विकेट लिए। ज्याक्सन बर्ड, लोयड पोप र ज्याक बलले समान १ विकेट हात पारे।

२०७७ पुष २९, बुधबार मा प्रकाशित