प्रम कप : सिद्धान्त लोहनीको कप्तानीमा प्रदेश-१ टिम घोषित

यही माघ २ गते देखि काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश नम्बर-१ ले १४ सदस्यीय टिमको घोषणा गरेको छ।

प्रतियोगिता अन्तर्गत समुह ‘ए’ मा रहेको प्रदेश-१ रहेको समुहमा विभागीय टोलि त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश र कर्णाली प्रदेश रहेको छ। प्रदेश-१ ले पहिलो खेलमा माघ ३ गते नेपाल एपीएफ क्लबसंग प्रतिस्पर्धा गर्नेछ।

राष्ट्रिय क्रिकेटर सिद्धान्त लोहनी कप्तानीको टिममा युवा खेलाडीहरुको बाहुल्यता रहेको छ। सिद्धान्त बाहेक टिममा सिनियर राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका खेलाडीहरु छैनन्। यु-१९ राष्ट्रिय टिमबाट खेलेका देब्रे हाते स्पिन अलराउण्डर शुभंकर उराउ टिममा छन्। मिनाश थापा, फिर्दोश अन्सारी, दिपेश कंडेल जस्ता अनुभवी खेलाडी टिममा छन्। टिमको प्रशिक्षक पूर्व राष्ट्रिय क्रिकेटर लाक्पा लामा रहेका छन् भने राष्ट्रिय टिमका पूर्व लेग स्पिनर राजकुमार प्रधान बलिंग प्रशिक्षक रहेका छन्। टिम व्यवस्थापक अजय राजबंशी रहेका छन्।

घोषित १४ सदस्यीय टोलि :- सिद्धान्त लोहनी ( कप्तान ) , फिर्दोश अन्सारी, मिनाश थापा, दिपक पासवान, राजन मगर, शुभांकर उराउ, दिपेश कंडेल, श्रवल यादव, सोनु मण्डल, जोशक खड्का, बिबेक मेहता, मनोज तामांग, ज्ञानेन्द्र श्रेष्ठ, हेमन्त राई

वैकल्पिक खेलाडी : सुजन थपलिया, सरोज बस्नेत, प्रज्वल खत्री, आशिष श्रेष्ठ

प्रशिक्षक – लाक्पा लामा, बलिंग प्रशिक्षक – राजकुमार प्रधान, व्यवस्थापक – अजय राजबंशी

१० टिम सम्मिलित प्रतियोगितामा ३ विभागीय टोलि त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सहित अन्य ७ वटा प्रदेशका टिमहरु सहभागी छन्।

सहभागी टिमहरुलाई दुई समुहमा विभाजन गरिएको छ। समुह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नम्बर १ र कर्णाली प्रदेश छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, प्रदेश नम्बर २ र सुदूरपश्चिम छन्। समुह चरणमा सबै टिमले एक अर्काविरुद्ध एक/एक खेल खेलेपछि दुवै समुहबाट विजेता र उपविजेता टोलि सेमिफाइनलमा प्रवेश गर्नेछन्।

पहिलो सेमिफाइनलमा समुह ‘ए’ को विजेता टिमले समुह ‘बि’ को उपविजेता टिमसँग भिड्ने छ भने दोस्रो सेमिफाइनलमा समुह ‘ए’ को उपविजेता टिमले समुह ‘बि’ को विजेता टिमको सामना गर्नेछ। पहिलो र दोस्रो सेमिफाइनलको विजेता टोलिले उपाधिका लागि फाइनलमा आमने-सामने हुनेछन्।

प्रम कप क्रिकेट : बिपिनको कप्तानीमा गण्डकी प्रदेश टिम

२०७७ पुष २९, बुधबार मा प्रकाशित