प्रम कप : शरदको नेतृत्वमा एपीएफ टिम

विभागीय टोलि नेपाल एपीएफ क्लबले नेपाली क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकरको कप्तानीमा चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको लागि १५ सदस्य टोली घोषणा गरेको छ। यस अघिका कप्तान बसन्त रेग्मीले कप्तानी छाडेपछि उनको स्थान भेसावकरले लिएका हुन्।

गत वर्ष एपीएफ अनुभवी देब्रे हाते स्पिनर बसन्त रेग्मीको कप्तानीमा पीएमकप खेलेको थियो । एपीएफको घोषणा टोलीमा स्पिनर भुवन कार्कीले पूनरागमन गरेका छन् । युवा तीव्र गतिका बलर किशोर महतो, स्पिनर सूर्य तामाङ र युवा ब्याट्सम्यान रित गौतम पहिलो पटक एपीएफबाट खेल्ने भएका छन् । गत वर्ष सेमिफाइनलबाट बाहिरिएको एपीएफले यस पटक बलियो टोली निर्माण गर्दै घोषणा गरेको छ । टिममा कप्तान भेसावकर र पूर्वकप्तान रेग्मी सहित, सुबास खकुरेल, प्रदिप ऐरी, सन्दिप जोरा, कमल सिंह ऐरी, भुवन कार्की, आसिफ शेख, अविनाश बोहरा जस्ता सिनियर राष्ट्रिय क्रिकेटरहरु रहेका छन्।

प्रधानमन्त्री कप माघ २ देखि १७ सम्म टियु मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुँदैछ । एपीएफ समूह ‘ए’ मा छ । समूह ‘ए’ मा एपीएफसँगै त्रिभुवन आर्मी, गण्डकी, प्रदेश १, कर्णाली छन् । गत वर्ष एपीएफ सेमिफाइनलमा पुलिससँग ५ विकेटले पराजित हुँदै बाहिरिएको थियो । दोस्रो संस्करणमा आर्मीलाई ६ विकेटले हराउँदै एपीएफले उपाधि जितेको थियो ।

एपीएफले माघ ३ मा प्रदेश १ विरुद्ध टियु मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । माघ ८ मा एपीएफले मुलपानीमा गण्डकीसँग खेल्ने छ । माघ १० मा कर्णाली र माघ १२ मा आर्मीसँग टियुमा खेल्ने छ ।

एपिएफको टोली : शरद भेषावकर (कप्तान), वसन्त रेग्मी, सुबास खकुरेल, शंकर राना, प्रदीप ऐरी, सन्दीप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, रित गौतम, किशोर महतो, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह रौटेला, सूर्य तामाङ र अभिनास बोहरा

२०७७ पुष २९, बुधबार मा प्रकाशित