बिग ब्यास : सिड्नीद्वारा पर्थ पराजित

जोश फिलिप्पे र र जेम्स भिन्स चम्कदा अष्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत शनिबार समपन्न ४१ औं खेलमा सिड्नी सिक्सरले पर्थ स्कोर्चर्समाथि ७ विकेटको सहज जित दर्ता गरेको छ।

जितसंगै ११ खेलमा ८ जित र ३ हारसहित ३२ अंक जोड्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको सिक्सरले आफ्नो अग्रता बढाएको छ। स्कोर्चर्स भने १० खेलमा ५ जित र ४ हारपछि २१ अंक बटुल्दै अंकतालिकाको तेस्रो स्थानमा यथावत छ।

क्यानवेरा स्थित मानुका ओभल मैदानमा समपन्न खेलमा १६४ रनको चुनौतिपूर्ण लक्ष्य पछ्याएको सिक्सरले १८.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। उसको लागि ओपनरद्वय फिलिप्पेले ५२ बलमा १० चौका र १ छक्काको मद्धतमा सर्वाधिक ८४ रन बनाए। हालसम्म प्रतियोगिताको सर्वाधिक रनकर्ता समेत रहेका फिलिप्पेले जारि सिजन तेस्रो अर्धशतक प्रहार गरेका हुन्। भिन्सले ३२ बलमा ५२ रन बनाए जुनक्रममा ५ चौका र १ छक्का हिर्काए।

फिलिप्पेले ५२ बलमा सर्वाधिक ८४ रन बनाए

जस्टिन अवेंदनो ८ रन बनाएर आउट भएपछि फिलिप्पे र भिन्सले दोस्रो विकेटको लागि १०६ रनको शतकीय साझेदारी गर्दै सिक्सरको इनिंग अघि बढाए। लगातार ओभरमा फिलिप्पे र भिन्स आउट भएपछि कप्तान ड्यानियल ह्युज र ड्यानियल क्रिस्टियनले सिक्सरलाई जितसम्म डोर्याए। ह्युजले ९ बलमा अविजित ११ तथा क्रिस्टियनले ४ बलमा अविजित ७ रन बनाए।

स्कोर्चर्सको बलिंगतर्फ जाए रिचर्डसन, जेसन बेहरेन्डोर्फ र फवाद अहमदले समान १ विकेट लिए।

यसअघि ब्याट फिलिप जितेर ब्याटिंगको निर्णय लिएको स्कोर्चर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो। स्कोरर्चर्सको ब्याटिंगमा लियाम लिभिङ्गस्टोनले ३८ बलमा ३ चौका र ६ छक्काको मद्धतमा सर्वाधिक ६७ रन बनाए। कलिन मन्रोले ३४, ज्याशन रोयले २१ तथा ॲरन हार्डीले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओपनरद्वय रोय र लिभिङ्गस्टोनले पहिलो विकेटको लागि ७६ रनको आक्रामक साझेदारी गरे। रोय आउट भएपछि लिभिङ्गस्टोनले मन्रोसँग दोस्रो विकेटको लागि २७ रनको साझेदारी गर्दै स्कोर्चर्सको इनिंग सम्हाले। त्यसपछि १८ रनको अन्तरालमा ४ विकेट गुमाउँन पुग्दा स्कोरर्चर्स विशाल योगफल बनाउँनबाट चुकेको थियो।

सिक्सरको बलिंगमा कार्लोस ब्रेथवेट, ज्याक बल र ड्यानियल क्रिस्टियनले समान २ विकेट लिए भने स्टिभ ओ’किफले १ विकेट हात पारे।

२०७७ माघ ३, शनिबार मा प्रकाशित