सुदूरपश्चिम स्पोर्टस अवार्डको चैत पहिलो साता

धनगढी: सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण आगामी चैत्र ६ गते हुने भएको छ।

आइतबार नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा पत्रकार सम्मेलन गर्दै अवार्डको दोस्रो संस्करण बारे जानकारी दिएको हो।

गत वर्ष पुस १५ गते प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड भएको भएपनि यस वर्ष कोरोना संक्रमणका कारण निर्धारित समयभन्दा केही ढिलो गरी अवार्ड आयोजनाको तयारी थालिएको पत्रकार सम्मेलनमा जानकारी लिइएको छ।

अवार्डको दोस्रो संस्करणको तयारी सुरु भइरहेको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले बताए। ‘तयारी थालिसकेका छौ। सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई आगामी दिनहरूमा देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्नेछ’ उनले भने।

२०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिइने जनाइएको छ।

अघिल्लो वर्ष जस्तै यस वर्षपनि उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डहरू रहेका छन्। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजारसहित ट्रफी मेडल र प्रमाण पत्र दिइनेछ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ।

अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।

२०७७ माघ ४, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment