इन्डियन प्रिमियर लिग ( आईपीएल ) को पहिलो सिजन २००८ को विजेता राजस्थान रोयल्सले आईपीएल २०२१ अघि आफ्नो कप्तान स्टिभ स्मिथलाई फुकुवा गरेको छ। टिमले संजु स्यामसनलाई टिमको नयाँ कप्तान नियुक्त गर्ने समेत निर्णय गरेको छ।
बुधबार आईपीएलका ८ वटा फ़्रेन्चाइजले आफ्नो फुकुवा गर्ने र कायम राख्ने खेलाडीहरुको सुची सार्वजनिक गरेको हो। फेब्रुअरी ११ तारिखमा आईपीएलको मिनी-अक्सन आयोजना हुँदैछ। आईपीएल २०२१ को आयोजना भारतमा अप्रिल/मे महिनामा हुनेछ जसको अधिकारिक मिति घोषणा गरिएको छैन।
आईपीएल २०२० मा राजस्थान रोयल्सले खास प्रदर्शन गर्न सकेको थिएन। कप्तान स्मिथले ब्याटबाट ३११ रन बनाउन सकेका थिए भने टिम १४ खेलमा १२ अंक प्राप्त गर्दै अंकतालिकाको पुछारमा रहेको थियो। नवकप्तान स्यामसनले २०१३ र १५ को सिजन राजस्थानको लागि खेलेका थिए जसपछि २०१८ मा पुनः टिमसंग जोडिएका थिए। स्यामसनले सिजन २०२० मा १४ खेलमा ३ वटा अर्धशतक प्रहार गर्दै ३७५ रन बनाएका थिए।
आईपीएल २०२० मा फ्लप रहेका अस्ट्रेलियन ब्याट्सम्यान ग्लेन म्याक्सवेललाई किंग्स-११ पन्जाबले फुकुवा गर्ने निर्णय गरेको छ। २०१४ मा पन्जाबसंग जोडिएका म्याक्सवेलले ५ सिजन टिमको प्रतिनिधित्व गरेपछि टिमले उनको साथ छोड्ने निर्णय गरेको हो। दुबईमा सम्पन्न १३ औं आईपीएलमा म्याक्सवेलले १३ खेलमा मात्र १०८ रन बनाउन सकेका थिए। पन्जाबले म्याक्सवेलसंगै शेल्डन कटरेल, मुजिब उर् रहमान, जिम्मी निशम, हर्दुस भिलजोन, करुण नायर र क्रिश्नप्पा गोथमलाई फुकुवा गरेको छ।

यस्तै डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले आईपीएलको सर्वाधिक विकेटकर्ता लासिथ मालिंगालाई फुकुवा गर्ने निर्णय लिएको छ। मालिंगाले गत सिजन पारिवारिक कारण देखाउदै खेलेका थिएनन्। मुम्बईले शर्फेंन रुथरफोर्ड, जेम्स प्याटीन्सन, मिचेल म्याकलेनघन, नाथन कोल्टर नाइललाई पनि रिलिज गरेको छ।
बिराट कोहली कप्तानीको टिम रोयल च्यालेन्जर्स बैंगलोरले आरोन फिंचलाई फुकुवा गरेको छ जसलाई गत अक्सनमा ४.४ करोड भारुमा टिमले लिएको थियो। अस्ट्रेलियन ओपनिंग ब्याट्सम्यानले गत सिजन १२ खेलमा २६८ रन बनाएका थिए। फिंचसंगै क्रिस मोरिस, उमेश यादव, शिभम दुबे, आरोन फिंच, डेल स्टेन, मोइन अलि, इसुरु उडाना, पवन नेगी, पार्थिव पटेल, गुरकरित सिंह मनलाई पनि टिमले अलग गरेको छ।
बिर्सनलायक आईपीएल २०२० रहेको महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सले केदार जाधब, मुरली विजय, हरभजन सिंह, पियुष चावला, मोनु सिंह र शेन वाटसनलाई फुकुवा गरेको छ। वाटसनले सबै फर्म्याटको क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन्। विवादास्पद तरिकाले आईपीएल २०२० छोडेर भारत फर्किएका चेन्नाई स्टार ब्याट्सम्यान सुरेश रैनालाई भने चेन्नाईले टिमसंग राख्ने भएको छ।
आईपीएल २०२० को उपविजेता दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई फुकुवा गरेको छ। यस्तै किमो पौल, एलेक्स केरी, जेसन रोय, मोहित शर्मा र तुषार देशपाण्डेलाई पनि फुकुवा गरिएको छ।
कोलकाता नाइट राइडर्सले टम ब्यान्टन, क्रिस ग्रिन, सिद्धेश लाड, निखिल नायक, एम सिद्धार्थलाई रिलिज गरेको छ। सनराइजर्स हैदरावादले बिल्ली स्टानलेक, फाबियन एलेन, संजय यादव, बि सन्दिप, पृथ्वी राजलाई रिलिज गरेको छ।
सम्बन्धित :-