प्रम कप : धमलाले शतक तथा सर्राफको १३ बलको अर्धशतक, पुलिसले बनायो ३११ रन

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सातौं दिन समुह ‘बि’ अन्तर्गतको खेलमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

टियु अन्तर्राष्ट्रिय मैदानमा टस हारेर ब्याटिंग गरेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३१० रन बनाउदै लुम्बिनी प्रदेशलाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पुलिसको लागि सुनिल धमलाले करियरकै पहिलो शतक बनाउने क्रममा सर्वाधिक १०४ रन बनाए। प्रधानमन्त्री कपमा प्रहार भएको यो १० औं शतक हो। धमलाले १४५ बलमा ७ चौका र १ छक्का प्रहार गरे। यस्तै दिपेन्द्र सिंह ऐरीले ६१ बलमा १ चौका र ६ छक्का मद्दतले ८५ रन बनाए। पवन सर्राफले मात्र १३ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै अविजित ५० रन बनाए।

कुशल भुर्तेल ६ तथा अमित श्रेष्ठ २८ रन बनाएर आउट भएपछि धमलाले तेश्रो विकेटको लागि दिपेन्द्र ऐरीसंग १२९ रनको साझेदारी गरेका थिए। ४४ औं ओभरमा धमलालाई अनिल खरेलले स्टम्प आउट गराएका थिए। ऐरीलाई ४८ औं ओभरमा सौरभ खनालले क्याच आउट गराए।

Pawan Sarraf

दिपेन्द्र ऐरीको विकेटपछि ४८ औं ओभरमा ब्याटिंग गर्न आएका पवन सर्राफले त्यसपछि मात्र १३ बलमा अर्धशतक प्रहार गर्दै टिमको योगफल ३०० पार गराएका थिए। त्यस क्रममा सर्राफले बिक्रम भुसालले गरेको ४९ औं ओभरमा २ वटा छक्का प्रहार गरे भने पार्ट टाइम स्पिनर सौरभ खनालले गरेको ५० औं ओभरमा ४ छक्का हिर्काए। सर्राफले अन्तिम ओभरमा पहिलो ३ बलमा छक्का हिर्काए भने अन्तिम बलमा छक्का हिर्काउदै अर्धशतक पुरा गरे। प्रधानमन्त्री कप तथा नेपाली घरेलु क्रिकेटमा सर्राफको अर्धशतक सबैभन्दा छिटो हो।

लुम्बिनीको बलिंगमा कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनालले समान १ विकेट लिए। खनालले २ ओभरमा ३८ रन खर्चिए।

प्रतियोगिता अन्तर्गत पुलिसले पहिलो खेलमा बागमती प्रदेशसंग हार बेहोरेपछि दोश्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो। लुम्बिनीले पहिलो खेलमा प्रदेश-२ लाई पराजित गरेको थियो।

स्कोरकार्ड, अंकतालिका

२०७७ माघ ८, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment