प्रम कप : सिद्धान्तले अर्धशतक बनाउदा प्रदेश-१ द्वारा कर्णालीलाई २१६ रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत शुक्रबार टियु मैदान किर्तिपुरमा जारि समुह ‘ए’ अन्तर्गतको खेलमा प्रदेश नम्बर-१ र कर्णाली प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग रोजेको प्रदेश-१ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २१५ रन बनाउदै कर्णालीलाई २१६ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड 

प्रदेश-१ को लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ६६ रन बनाए जुन क्रममा ९७ बलमा ९ चौका प्रहार गरे। शुभांकर उराउले ३६, मिनास थापाले २५, सर्वन यादव र फिर्दोश अन्सारीले समान १७ रन बनाए।

पहिलो ४ विकेट ६६ रनको स्कोरमा गुमाएपछि सिद्धान्त लोहनी र फिर्दोश अन्सारीले पाँचौ विकेटको लागि ७३ रनको साझेदारी गरेका थिए। सिद्धान्तलाई ४३ औं ओभरमा दिनेश अधिकारीले क्याच आउट गराए। इनिंग्सको अन्तिममा शुभांकर उराउ र राजन मगरले आठौँ विकेटको लागि ४० रनको साझेदारी गर्दै टिम योगफल २ सय पार गराए।

कर्णालीको बलिंगमा कप्तान रबिन्द्र जंग शाहीले सर्वाधिक ३ विकेट तथा दिनेश अधिकारी र अनुज चुनाराले समान २ विकेट लिए। दिवान पुन र राज शाहले समान १ विकेट लिए। स्कोरकार्ड 

प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशले २ खेल खेल्दा १ जित र १ हार बेहोरेको छ। कर्णालीले गण्डकी प्रदेशलाई पराजित गर्दै पहिलो जित हात पारेको थियो। अर्कोतर्फ प्रदेश-१ ले यस अघि सम्पन्न तिन वटै खेलमा हार बेहोरेको थियो। प्रदेश-१ प्रतियोगिताको सेमीफाइनल दौडबाट बाहिर भैसकेको छ।

२०७७ माघ ९, शुक्रबार मा प्रकाशित