प्रम कप : मिनास र सिद्धान्त चम्किदा प्रदेश-१ को सान्त्वना जित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत शुक्रबार टियु मैदान किर्तिपुरमा सम्पन्न समुह ‘ए’ अन्तर्गतको खेलमा प्रदेश-१ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

प्रतियोगितामा आफ्नो चौथो तथा अन्तिम खेल खेल्दा पहिलो जित दर्ता गरेको प्रदेश-१ प्रतियोगिताबाट बाहिरिसकेको छ। कर्णालीको ३ खेल खेल्दा १ जित र २ हार रहेको छ। समुहमा आर्मी ३ खेल जित्दै पहिलो र एपीएफ २ खेल जित्दै दोश्रो स्थानमा रहेको छ।

खेलमा प्रदेश-१ ले दिएको २१६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले ३५ ओभरमा १५६ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। कर्णालीको लागि ओपनर बिपिन रावलले सर्व्धिक ४७ रन बनाए भने निश्चल रावलले ३१, रबिन्द्र शाहीले १८ तथा दिवान पुनले १४ रन बनाए।

कर्णालीका ओपनर रबिन्द्र शाही र बिपिन रावलले ६३ रनको ओपनिंग साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। तर १० औं ओभरमा कप्तान शाहीलाई दिपेश कंडेलले क्याच आउट गराए पछि कर्णालीले नियमित अन्तरालमा विकेट गुमाउन पुग्यो। अर्धशतक बनाउन ३ रनले चुक्दै बिपिन रावल मिनास थापाबाट बोल्ड भए। त्यसपछि निशाल रावलले एक किनार सम्हालेता पनि अर्को किनारमा लगातार विकेट गुमेको थियो।

मिनास थापाले ५ विकेट लिए

प्रदेश-१ को बलिंगमा अफ स्पिनर मिनास थापाले ५ विकेट लिए जुन क्रममा १० ओभरमा २ मेडन ओभर गर्दै मात्र २६ रन खर्चिए। दिपेश कंडेलले ३ तथा मनोज तामांगले २ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको प्रदेश-१ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २१५ रन बनाएको थियो।

प्रदेश-१ को लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक ६६ रन बनाए जुन क्रममा ९७ बलमा ९ चौका प्रहार गरे। शुभांकर उराउले ३६, मिनास थापाले २५, सर्वन यादव र फिर्दोश अन्सारीले समान १७ रन बनाए।

पहिलो ४ विकेट ६६ रनको स्कोरमा गुमाएपछि सिद्धान्त लोहनी र फिर्दोश अन्सारीले पाँचौ विकेटको लागि ७३ रनको साझेदारी गरेका थिए। सिद्धान्तलाई ४३ औं ओभरमा दिनेश अधिकारीले क्याच आउट गराए। इनिंग्सको अन्तिममा शुभांकर उराउ र राजन मगरले आठौँ विकेटको लागि ४० रनको साझेदारी गर्दै टिम योगफल २ सय पार गराए।

कर्णालीको बलिंगमा कप्तान रबिन्द्र जंग शाहीले सर्वाधिक ३ विकेट तथा दिनेश अधिकारी र अनुज चुनाराले समान २ विकेट लिए। दिवान पुन र राज शाहले समान १ विकेट लिए।

स्कोरकार्ड, अंकतालिका, खेलतालिका 

२०७७ माघ ९, शुक्रबार मा प्रकाशित