काठमाण्डौमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार समुह ‘बि’ अन्तर्गतको खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।
माथिल्लो मुलपानी मैदानमा जारि खेलमा टस जितेर ब्याटिंग गरेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२० रन बनाउदै लुम्बिनीलाई २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
बागमतीको लागि ओपनर आदील खानले सर्वाधिक ५५ रन बनाए जुन क्रममा ८७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै इशान पाण्डेले ५१ रन बनाए जुन क्रममा ५३ बलमा ४ चौका र २ छक्का प्रहार गरे। आकाश थापाले ३९,पृथु बास्कोटाले २९ रन , ज्ञानेन्द्र मल्लले १४ तथा नन्दन यादबले अविजित ११ रन बनाए।

पहिलो विकेटको लागि आदील र आकाशले ६३ रनको साझेदारी गरेका थिए। २० औं ओभरमा आकाश थापा र बिभत्सु थापाको विकेट लिंदै देब्रे हाते स्पिनर दिपेन्द्र रावतले लुम्बिनीलाई खेलमा फर्काए। तेश्रो विकेटको लागि आदीलले पृथु बास्कोटासंग ६५ रनको साझेदारी गरे। ३२ औं ओभरमा आदीललाई अनिल खरेलले क्याच आउट गराए भने लगत्तै ओभरमा पृथुलाई बिक्रम भुसालले क्याच आउट गराए। त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल १४ रन बनाएर सन्दिप सुनारबाट एलबिडब्लु आउट भए।
पाँचौ नम्बरमा ब्याटिंग गरेका इशानले अर्को किनारमा विकेट गुमेता पनि एक किनार सम्हाल्दै ब्याटिंग गरे। इशानलाई अन्तिम ओभरमा कृष्ण कार्कीले सौरभ खनालबाट क्याच आउट गराए।
लुम्बिनीको बलिंगमा देब्रे हाते स्पिनर दिपेन्द्र रावतले सर्वाधिक ३ विकेट लिए। कप्तान कृष्ण कार्की र सन्दिप सुनारले समान २ विकेट तथा बिक्रम भुसाल र अनिल खरेलले समान १ विकेट लिए।
आज जित दर्ता गरेको बागमती समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ। यस्तै लुम्बिनीले आज जिते सेमीफाइनल सम्भावना बलियो हुनेछ। स्कोरकार्ड, अंकतालिका