प्रम कप : लुम्बिनी र बागमतीको खेल बराबरीमा टुंगियो, बागमती सेमीफाइनलमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार मुलपानी मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेल बराबरीमा टुंगिएको छ।

बागमती प्रदेशले दिएको २२१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ४८ ओभरमा सम्पूर्ण विकेट गुमाउन पुगेपछि खेल बराबरी भएको हो।

जितको लागि मात्र ५ रन आवस्यक तथा साथमा ३ विकेट रहेको बेला लुम्बिनीले थप ४ रन बनाउदा ३ विकेट गुमाउन पुगेको हो। ४७ औं ओभरमा ४१ रन बनाएका कृष्ण कार्कीलाई इशान पाण्डेले क्याच आउट गराएपछि ३ ओभरमा जित्न लुम्बिनीलाई ३ रन आवस्यक थियो। ४८ औं ओभरको तेश्रो बलमा जितेन्द्र सहानीलाई बिपिन आचार्यले क्याच आउट गराए। जित्न १ रन आवस्यक रहंदा सोहि ओभरको अतिम बलमा दिपेन्द्र रावत रन आउट हुँदा खेल बराबरीमा टुंगियो।

लुम्बिनीको लागि कप्तान कृष्ण कार्की र प्रकाश केसीले समान ४१ रन योगदान दिए। सौरभ खनालले ३४, देभ खनालले २६ तथा सन्दिप सुनारले २५ रन बनाए।

पहिलो विकेटको लागि सन्दिप सुनार र देभ खनालले ६.२ ओभरमा ६० रनको साझेदारी गरेका थिए। सातौं ओभरमा देभ र सन्दिप दुवैलाई बिपिन आचार्यले पेभेलियन फर्काए। त्यसपछि सन्दिप रजाली ११ रन बनाएर आउट भए।

चौथो विकेटको लागि सौरभ खनाल र प्रकाश केसीले ७३ रनको साझेदारी गरे। ३३ औं ओभरमा सौरभ तथा ३६ औं ओभरमा प्रकाश आउट भए जसपछि लुम्बिनीले नियमित अन्तरलमा विकेट गुमाउन पुगेको थियो। कृष्ण कार्कीले एक किनार सम्हालेर ब्याटिंग गर्दै टिमलाई जित दिलाउने प्रयास गरेका थिए।

बागमती प्रदेशको बलिंगमा देब्रे हाते स्पीनर बिपिन आचार्यले सर्वाधिक ४ विकेट लिए। गौतम केसीले २ विकेट लिंदा रामनरेश गिरि, तिलक भण्डारी र इशान पाण्डेले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२० रन बनाएको थियो।

बागमतीको लागि ओपनर आदील खानले सर्वाधिक ५५ रन बनाए जुन क्रममा ८७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै इशान पाण्डेले ५१ रन बनाए जुन क्रममा ५३ बलमा ४ चौका र २ छक्का प्रहार गरे। आकाश थापाले ३९,पृथु बास्कोटाले २९ रन , ज्ञानेन्द्र मल्लले १४ तथा नन्दन यादबले अविजित ११ रन बनाए।

Aadil Khan

पहिलो विकेटको लागि आदील र आकाशले ६३ रनको साझेदारी गरेका थिए। २० औं ओभरमा आकाश थापा र बिभत्सु थापाको विकेट लिंदै देब्रे हाते स्पिनर दिपेन्द्र रावतले लुम्बिनीलाई खेलमा फर्काए। तेश्रो विकेटको लागि आदीलले पृथु बास्कोटासंग ६५ रनको साझेदारी गरे। ३२ औं ओभरमा आदीललाई अनिल खरेलले क्याच आउट गराए भने लगत्तै ओभरमा पृथुलाई बिक्रम भुसालले क्याच आउट गराए। त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल १४ रन बनाएर सन्दिप सुनारबाट एलबिडब्लु आउट भए।

पाँचौ नम्बरमा ब्याटिंग गरेका इशानले अर्को किनारमा विकेट गुमेता पनि एक किनार सम्हाल्दै ब्याटिंग गरे। इशानलाई अन्तिम ओभरमा कृष्ण कार्कीले सौरभ खनालबाट क्याच आउट गराए।

लुम्बिनीको बलिंगमा देब्रे हाते स्पिनर दिपेन्द्र रावतले सर्वाधिक ३ विकेट लिए। कप्तान कृष्ण कार्की र सन्दिप सुनारले समान २ विकेट तथा बिक्रम भुसाल र अनिल खरेलले समान १ विकेट लिए।

अंकतालिका 

खेल बराबरीमा टुंगिएपछि समुह ‘बि’ अंकतालिकामा बागमती ४ खेलमा ३ जित र १ बराबरी पछि ७ अंक सहित पहिलो स्थानमा छ। ४ खेलमा २ जित १ हर र १ बराबरी पछि ५ अंक सहित लुम्बिनी दोश्रो स्थानमा छ। नेपाल पुलिस क्लब ३ खेलमा २ जित र १ हार पछि ४ अंक सहित तेश्रो स्थानमा छ।

समुह ‘बि’ बाट बागमती प्रदेश सेमीफाइनल प्रवेश गरेको छ भने अब नेपाल पुलिस क्लब र सुदूरपश्चिम बीचको खेलमा पुलिस विजयी भए पुलिस सेमीफाइनल प्रवेश गर्नेछ। समुह ‘ए’ बाट एपीएफ र त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन्।

स्कोरकार्ड, अंकतालिका

२०७७ माघ ११, आईतवार मा प्रकाशित