प्रम कप सेमीफाइनल : चलेन एपीएफको ब्याटिंग, पुलिसलाई २०४ रनको लक्ष्य

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत पहिलो सेमीफाइनलमा शशस्त्र प्रहरी बल ( एपीएफ ) र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गरिरहेका छन्।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिंग गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनाउदै पुलिसलाई २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

एपीएफको लागि शंकर रानाले सर्वाधिक ४४ रन तथा भुवन कार्कीले ४२ रन बनाए। सन्दिप जोराले ३४ रन, सुबास खकुरेलले १९ रन तथा शरद भेसावकरले १८ रन बनाए।

एपीएफको सुरुवात निकै खराब रहेको थियो। पाँचौ ओभरमा आरिफ शेखलाई राशिद खानले आफैद्वारा क्याच आउट गराए। त्यसपछि सुबास खकुरेल आठौँ ओभरमा अरिफ शेखबाट बोल्ड भए। १२ औं ओभरमा कप्तान शरदलाई आरिफले विकेटकिपर अनिल साहबाट क्याच आउट गराए। १४ औं ओभरमा सुमित महर्जनलाई आरिफले तेश्रो शिकार बनाउने क्रममा पवन सर्राफबाट क्याच आउट गराए।

आरिफ शेखले ३ विकेट लिए

४३/४ को अवस्थाबाट पाँचौ विकेटको लगी शंकर राना र भुवन कार्कीले ६४ रनको साझेदारी गर्दै योगफल १०० पार गराए। ३० औं ओभरमा जोरालाई सागर ढकालले बोल्ड गरे। ३९ औं ओभरमा शंकर रानालाई दिपेन्द्र ऐरीले क्याच आउट गराए। ४५ औं ओभरमा अमर रौटेलालाई ऐरीले राशिद खानबाट क्याच आउट गराउदै दोश्रो विकेट लिए। ४९ औं ओभरमा भुवन कार्कीलाई ललित राजबंशीले स्टम्प आउट गराए। अन्तिम ओभरमा अविनाश बोहराले राशिद खानलाई १ चौका र १ छक्का हिर्काउदै योगफल २ सय पार गराए।

नेपाल पुलिस क्लबको बलिंगमा दायाँ हाते पेसर आरिफ शेखले सर्वाधिक ३ विकेट लिए जुन क्रममा १० ओभरमा १ मेडन ओभर गर्दै ३१ रन खर्चिए।  ललित राजबंशी र दिपेन्द्र ऐरीले समान २ विकेट लिए भने राशिद खान र सागर ढकालले १/१ विकेट लिए।

स्कोरकार्ड 

घाइते भएका कारण एपीएफका मुख्य स्पिनर बसन्त रेग्मी आजको खेल खेलीरहेका छैनन्। यस्तै खेलको क्रममा खुट्टामा चोट लागेपछि आरिफ शेखलाई अस्पताल लागिएको छ।

प्रतियोगिता अन्तर्गत समुह चरणको खेलमा समुह ‘ए’ को विजेताको रुपमा एपीएफ सेमीफाइनल पुगेको थियो। पुलिस समुह ‘बि’ को उपविजेताको रुपमा सेमीफाइनल पुगेको हो। समुह चरणमा एपीएफले ४ वटै खेलमा जित दर्ता गर्ने क्रममा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र गण्डकी प्रदेशलाई पराजित गरेको थियो। पुलिसले पहिलो खेलमा बागमती प्रदेशसंग हार बेहोरेपछि सुदुरपश्चिम प्रदेश र प्रदेश-२ लाई पराजित गर्दा लुम्बिनी प्रदेशसंग बराबरी खेलेको थियो।

गत सिजन प्रधानमन्त्री कपको सेमीफाइनलमा पुलिसले एपीएफलाई ५ विकेटले पराजित गरेको थियो। एपीएफ मात्र ४१ रनमा समेटिन पुग्दा पुलिसले ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

२०७७ माघ १४, बुधबार मा प्रकाशित