प्रम कप : बागमतीलाई हराउदै आर्मी चौथो पटक फाइनलमा

बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। प्रतियोगिताको उपाधिको लागि शनिवार दुई विभागीय टोलि एपीएफ र आर्मीले प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रधानमन्त्री कपको यस अघि सम्पन्न तिनवटै संस्करणमा आर्मी फाइनल पुग्न सफल भएता पनि उपाधि भने जित्न सकेको छैन। सन् २०१७ को फाइनलमा आर्मीले पुलिससंग उपाधि बाँडेको थियो। २०१८ मा आर्मी एपीएफसंग पराजित भएको थियो भने २०१९ मा आर्मी पुलिससंग पराजित भएको थियो।

प्रतियोगिताको बुधबार सम्पन्न पहिलो सेमीफाइनलमा नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा सम्पन्न खेलमा आर्मीले दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले ४०.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो।

बागमतीको ब्याटिंगमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रन बनाए भने बिपिन आचार्यले २३ र नन्दन यादबले अविजित २२ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा बागमतीको सुरुवात अत्यन्त खराब रह्यो। आर्मीका फास्ट बलर बिक्रम सोबले पहिलो ओभरमा आकाश थापालाई क्याच आउट गराए। त्यसपछि छैठौं ओभरमा जितेन्द्र मुखियाले आदील खानलाई विकेट पछाडी क्याच आउट गरे। सातौँ ओभरमा बिक्रमले फर्ममा रहेका पृथु बास्कोटालाई एलबिडब्लु आउट गरे। त्यसपछि जितेन्द्रले आठौँ ओभरमा बिभत्सु थापा र इशान पाण्डेलाई पेभेलियन फर्काए। १८ रनको योगफलमा आर्मीले ५ विकेट गुमाउन पुग्यो।

पाँचौ नम्बरमा ब्याटिंगमा आएका कप्तान ज्ञानेन्द्र मल्लले सातौँ नम्बरमा आएका बिपिन आचार्यसंग छैठौं विकेटको लागि ५८ रनको साझेदारी गरे। सुशन भारिले बिपिनलाई २२ औं र त्यसपछि रामनरेश गिरिलाई २६ औं ओभरमा पेभेलियन फर्काए। २८ औं ओभरमा भारिले ज्ञानेन्द्र मल्ललाई एलबिडब्लु आउट गराए जसपछि बागमतीको इनिंग्स धरासायी बन्न पुग्यो।

आर्मीको बलिंगमा जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए। बिक्रम सोब र सुशन भारिले समान ३ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंगको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो।

आर्मीको ब्याटिंगमा राजेश पुलामीले सर्वाधिक ६५ रन बनाए जुन क्रममा ९१ बलमा ४ चौका र २ छक्का प्रहार गरे। यस्तै भिम शार्कीले ४० रन, बिक्रम सोबले ३५ रन, लोकेश बमले २३ रन , सुशन भारिले १६ रन तथा बिनोद भण्डारीले १० रनको योगदान दिए।

बागमतीका मिडियम पेसर गौतम केसीले ५ विकेट लिए

खराब सुरुवात गरेको आर्मीले १७ रनको योगफलमा ३ विकेट गुमाउन पुग्यो। चौथो ओभरमा अनिल मण्डल र रोहित पौडेललाई गौतम केसीले बोल्ड गरे। आठौँ ओभरमा हरि चौहानलाई गौतमले विकेटकिपर आकाश थापाबाट क्याच आउट गराए।

चौथो विकेटको लागि भिम शार्की र लोकेश बमले ५६ रनको साझेदारी गरे। १९ औं ओभरमा लोकेशलाई नन्दन यादबले क्याच आउट गराउदै बागमतीलाई खेलमा पुनः हावी गराए। २२ औं ओभरमा भिम शार्कीलाई तिलक भण्डारीले विकेटकिपर आकाश थापाबाट क्याच आउट गराए। २७ औं ओभरमा कप्तान बिनोद भण्डारीलाई बिपिन आचार्यले क्याच आउट गराए।

१०६ रनमा ६ विकेट गुमाएको आर्मीको इनिंग्स राजेश पुलामीले सम्हाले जसले बिक्रम सोबसंग सातौँ विकेटको लागि ९२ रनको साझेदारी गरे। ४६ औं ओभरमा बिक्रमलाई रामनरेश गिरिले विकेटपछाडी क्याच आउट गराएर साझेदारी तोडे। राजेश पुलामी अन्तिम ओभरमा गौतम केसीबाट स्टम्प आउट भए।

बागमती प्रदेशको बलिंगमा मिडियम पेसर गौतम केसी एक्लैले ५ विकेट लिए जुन क्रममा १० ओभर बलिंग गर्दै ६१ रन खर्चिए। रामनरेश गिरि, नन्दन यादव, तिलक भण्डारी र बिपिन आचार्यले समान १ विकेट लिए।

 खेलको स्कोरकार्ड

यो पनि पढ्नुस :-

टि-१० लिगमा आज करन र सोमपाल आबद्ध टिमको खेल ( सम्पूर्ण जानकारी )

२०७७ माघ १५, बिहीबार मा प्रकाशित