टि-१० लिग : दोश्रो खेलमा करनको राम्रो प्रदर्शन, पुने पराजित

युएईमा जारी अबुधाबी टि-१० लिग अन्तर्गत दोश्रो दिन लिगको चौथो खेलमा कलन्दर्सले नेपाली खेलाडी करन केसी आवद्ध पुने डेभिल्सलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

समुह ‘बि’ अन्तर्गतको शेख जायद स्टेडियम अबुधाबीमा सम्पन्न खेलमा पुनेले दिएको १०८ रनको लक्ष्य कलन्दर्सले ७.१ ओभरमै भेटायो। कलन्दर्सको लागि ओपनर टम ब्यानटनले सर्वाधिक ४५ रन बनाए जुन क्रममा १८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै सोहेल अख्तरले अविजित ३३ र शर्जिल खानले अविजित २८ रन बनाए। पुनेको बलिंगमा मुनिस अन्सारीले १ मात्र विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको पुनेले १० ओभरमा २ विकेट गुमाएर १०७ रन बनाएको थियो। पुनेको लागि ओपनर टम कोहलरले सर्वाधिक ५४ रन बनाएका थिए जुन क्रममा २८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। दर्विश रसुलीले अविजित ३९ रन बनाए।

टम ब्यानटन

यस्तो रह्यो करनको प्रदर्शन 

अघिल्लो खेल जस्तै करन पाँचौ ओभरमा बलिंग गर्न आए। ओभरको निकै राम्रो सुरुवात गरेका करनले पहिलो ५ बलमा सबै बलमा १/१ रन दिए। ओभरको अन्तिम बलमा करनले अफस्टम्प बाहिर गरेको बललाई सोहेल अख्तरले डिप-मिड विकेटमा चौका प्रहार गरे। ओभरमा करनले कुल ९ रन खर्चिए।

त्यस अघि ओभरमा करनले गति परिवर्तन गर्दै बल फाले जसमा उनि सफल रहे। अघिल्लो खेलमा बलिंग गर्दा आतिएको जस्तो देखिएका करन आज भने बलिंग गर्ने क्रममा ढुक्क देखिएका थिए। पहिलो ओभर बलिंग पाएपछि अघिल्लो खेल जस्तै करनलाई दोश्रो ओभर बलिंग गर्न दिईएन। करनले पुनेले प्रयोग गरेको ५ जना बलर मध्ये सबैभन्दा किफायती बलिंग गरे।

खेलको क्रममा कमेन्टेटरले करन नेपालको खेलाडी भन्दै नेपालमा क्रिकेट लोकप्रिय रहेको र खेल हेर्न २० हजार दर्शक मैदान पुग्ने बताएका थिए।

लिग अन्तर्गत यस अघि बिहिबार सम्पन्न खेलमा पुनेले विजयी सुरुवात गर्ने क्रममा डेक्कन ग्ल्याडीएटर्सलाई ७ विकेटले पराजित गरेको थियो। डेक्कनले दिएको १०५ रनको लक्ष्य पुनेले ३ विकेट गुमाएर पुरा गरेको थियो। खेलमा करन केसीले १ ओभर बलिंग गरेका थिए जसमा १७ रन खर्चेका थिए।

लिग अन्तर्गत आजै अर्का नेपाली खेलाडी सोमपाल कामि आवद्ध टिम मराठा अरबियन्सले दिल्ली बुल्ससंग खेल्नेछ। खेल नेपाली समय ८ बजे बेलुका सुरु हुनेछ। यस्तै आजनै अर्का नेपाली खेलाडी कुशल मल्ल आवद्ध टिम अबुधाबीले डेक्कन ग्ल्याडीएटर्ससंग खेल्नेछ। खेल नेपाली समय राति १०:१५ बजे सुरु हुनेछ। टिम अबु धाबीमा पारस खड्का मेन्टरको रुपमा आवद्ध रहेका छन्।

२०७७ माघ १६, शुक्रबार मा प्रकाशित