कतार टि२० सिरिज : प्रारम्भिक नेपाली टिममा युवा खेलाडीको बाहुल्यता

नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारमा खेल्ने मैत्रीपूर्ण टि-२० सिरिजको लागि शुक्रबार नेपाल क्रिकेट संघले १८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ।

नेपालले कतार क्रिकेट एसोसिएसनको निम्तोमा ‘कतार स्पोर्ट्स डे’ को अवसरमा फेब्रुअरी ९ देखि १२ तारिख सम्म आयोजक कतारसंग तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेल्नेछ।

क्यानद्वारा घोषित १८ सदस्यीय टिममा नियमित कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेसावकर, बसन्त रेग्मी, सन्दिप लामिछाने जस्ता नामहरुई समाबेश गरिएको छैन। पारस खड्का हाल अबु धाबी टि-१० लिगमा टिम अबु धाबीको मेन्टरको रुपमा युएईमा रहेका छन्।

अबु धाबी टि-१० लिग खेलीरहेका करन केसी, सोमपाल कामि र करन केसीलाई भने टिममा समाबेश गरिएको छ। उनीहरु युएईबाट कतारतर्फ सिरिज खेल्न प्रस्थान गर्नेछन्।

ज्ञानेन्द्र मल्लको अनुपस्थितिमा टिमको कप्तानी उपकप्तान दिपेन्द्र सिंह ऐरीले गर्नेछन्। टिममा बिनोद भण्डारी, सन्दिप जोरा,  आसिफ शेख, कुशल भुर्तेल, भुवन कार्की, कमल सिंह ऐरी, अविनाश बोहरा, पवन सर्राफ जस्ता खेलाडीहरु छन्।

प्रारम्भिक टिममा युवा खेलाडीहरुलाई मौका दिईएको छ। लोकेश बम, सागर ढकाल, बिबेक यादव, सौरभ खनाल, कृष्ण कार्की, शाहब आलम जस्ता खेलाडीहरुले मौका पाएका छन्।

Krishna Karki

टिममा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेका लुम्बिनी प्रदेशका ब्याट्सम्यान सौरभ खनाललाई मौका दिईएको छ। सौरभले प्रतियोगितामा नेपाल पुलिस क्लब र प्रदेश-२ बिरुद्ध अर्धशतक प्रहार गरेका थिए। सौरभले पुलिस बिरुद्ध ७४ तथा प्रदेश-२ बिरुद्ध ५६ रन बनएका थिए। यस्तै सुदूरपश्चिम बिरुद्ध अविजित १८ रन तथा बागमती प्रदेश बिरुद्ध उनले ३४ रन बनाएका थिए। सौरभले यस अघि नेपाली यु-१९ टिमको प्रतिनिधित्व गरिसकेका छन्।

यस्तै टिममा लुम्बिनी प्रदेशको कप्तानी गरेका तिब्र गति बलिंग अलराउण्डर कृष्ण कार्कीलाई पनि मौका दिईएको छ। अन्तिम पटक २०१२ मा नेपालले टि-२० विश्वकप छनोट खेल्दा कृष्ण नेपालको टिममा रहेता पनि अन्तिम-११ मा भने मौका पाएका थिएनन्। प्रधानमन्त्रीमा कृष्णले अलराउण्ड प्रदर्शन गर्ने क्रममा ४ खेलमा १०६ रन बनाउनुको साथै ८ विकेट समेत लिएका थिए। उनले यस क्रममा सुदूरपश्चिम बिरुद्ध ४ तथा बागमती बिरुद्ध २ विकेट लिएका थिए भने बागमती बिरुद्ध ४१ रन तथा पुलिस क्लब बिरुद्ध अविजित ४० रन बनाएका थिए।

टिममा यु-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका नेपाल पुलिस क्लबको लागि प्रधानमन्त्री कप खेलेका देब्रे हाते स्पिनर सागर ढकाललाई पनि मौका दिईएको छ। सागरले प्रतियोगितामा ५ खेल खेल्दा ८ विकेट लिएका थिए।

त्रिभुवन आर्मी क्लबको लागि प्रधानमन्त्री कप खेलीरहेका आक्रामक ओपनर लोकेश बमलाई पनि टिममा मौका दिईएको छ। बमले प्रधानमन्त्री कपमा गण्डकी बिरुद्ध सर्वाधिक ४२ रन बनाएका थिए भने कर्णाली र प्रदेश-१ बिरुद्ध समान १३ रन, एपीएफ बिरुद्ध २१ रन तथा बागमती बिरुद्ध २३ रन बनाएका थिए। बमले अघिल्लो संस्करणको पोखरा प्रिमियर लिगमा प्रभावशाली प्रदर्शन गरेका थिए। उनि आक्रामक सुरुवातको लागि जानिने गर्छन्।

यस्तै प्रधानमन्त्री कपमा राम्रो लयमा देखिएका एपीएफका ओपनर आसिफ शेखले पनि टिममा पुनरागमन गरेका छन्। आसिफले प्रधानमन्त्री कपमा गण्डकी बिरुद्ध ७८ तथा प्रदेश-१ बिरुद्ध ५९ रन बनाएका थिए।

प्रधानमन्त्री कपमा प्रदेश-२ को प्रतिनिधित्व गर्दै उत्कृस्ट प्रदर्शन गरेका अलराउण्डर बिबेक यादवले पनि टिममा मौका पाएका छन्। यादवले प्रतियोगितामा ब्याट र बल दुवैबाट प्रभावित गरेका थिए। उनले सुदूरपश्चिम बिरुद्ध ४१, बागमती बिरुद्ध ६६ तथा लुम्बिनी बिरुद्ध ५१ रन बनाएका थिए। यस्तै बलिंगमा पुलिस बिरुद्ध ३ विकेट लिएका थिए। यादवले यस अघि नेपाली यु-१९ टिमको प्रतिनिधित्व गरिसकेका छन्।

यस्तै आर्मीका देब्रे हाते स्पिनर शाहब आलमले पनि टिममा स्थान पाएका छन्। उनले प्रतियोगितामा ४ खेल खेल्ने क्रममा ९ विकेट लिईसकेका छन्। आलमले यस अघि यु-१९ टिमको लागि खेलीसकेका छन्।

घोषित १८ सदस्यीय प्रारम्भिक टिम : बिनोद भण्डारी, लोकेश बम, सन्दिप जोरा, कमल सिंह ऐरी, आसिफ शेख, अविनाश बोहरा, कुशल भुर्तेल, दिपेन्द्र ऐरी, सागर ढकाल, पवन सर्राफ, बिबेक यादव, कृष्ण कार्की, सौरभ खनाल, सोमपाल कामि, भुवन कार्की, करन केसी, कुशल मल्ल, शाहब आलम

२०७७ माघ १६, शुक्रबार मा प्रकाशित